२०८१ बैशाख १४

अहिलेको राजनीतिक प्रणाली र नेतृत्व विकासमा बाधक – राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्यमान राजनीतिक प्रणाली र यसका अगुवा नेतृत्व नै देशको स्थिरता, विकास र समृद्धिको बाधक भएको बताएका छन्।


Advertisement


शुक्रबार ललितपुरको इमाडोलमा आयोजित क्षेत्रीय आमसभालाई सम्बोधन गर्दै उनले लामो समय असफलताको नेतृत्व गरिरहेका दल र नेतृत्वको गलत नीति, अकर्मण्यताको विकल्प खोज्ने बेला आएको बताएका हुन्। 

राप्रपाको महाधिवेशनपछि आम जनतामा सकारात्मक आशा पैदा भएको उनले दाबी गरे।

सम्बोधनको लामो समय कांग्रेस, एमाले र माओवादीको आलोचनामा समय खर्चिएका लिङ्देनले ठूला दलकै कारण कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकालाई असफल तुल्याउने, विवादित बनाउने र जनतामा निराशा पैदा गर्ने काम भइरहेको उल्लेख गरे।

बिचौलिया व्यापारी, भ्रष्ट कर्मचारीसँगको मिलेमतो र राजनीतिक नेतृत्वको संरक्षणमा देशमा भ्रष्टाचार व्याप्त भइरहेको र न्यायालय समेत भ्रष्टाचारमुक्त हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले गणतन्त्र लुटतन्त्रमा रूपान्तरित भएको बताए।

‘नेपालको हिन्दु राष्ट्रको पहिचान हटाइ धर्म निरपेक्षता गराउन विगतमा गल्ती भएका छन्। यो गल्ती सच्याउनुपर्छ, पहिलो र पवित्र भोट हिन्दु राष्ट्र पक्षधर राप्रपाले पाउनुपर्छ,’ उनले भने, ‘राजालाई गाली गरेर राजनीति गर्ने दिन हिजो थियो। राजालाई गाली गरेको भरमा केही दल र नेताहरू स्थापित पनि भए।’ 

उनले थपे, ‘विगतको अवस्था जस्तै ठानेर राजालाई गाली गरेर उठ्ने सपना कसैले देखिरहेको छ भने त्यो दिवासपना हुनेछ।’

Copy link
Powered by Social Snap