२०८० चैत्र १५

विश्वकप लिग-२: नेपालले पपुवा न्युगिनीलाई हरायो

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ।

बुधबार पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले चार बल बाँकी छदा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।


Advertisement


नेपालले जितका लागि ९ बलमा १० रन बनाउने पर्ने अवस्थामा सोमपाल कामी ७ रनमा आउट भएका थिए। जसका कारण नेपालमाथि दबाब थपिएको थियो। तर लगत्तैको बलमा करण केसीले चौका हिर्काएका थिए।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ५ रन चाहिएको थियो भने नेपालको २ विकेट बचेको थियो।

अन्तिम ओभरको पहिलो बलमा लेग बाइ चौका हुँदा र दोस्रो बलमा करणले छक्का हिर्काउँदै नेपाललाई जिताए। उनले २५ बलमा नटआउट २९ रन जोडे। उनले २ छक्का र १ चौका हिर्काए। 

नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतक प्रहार गरे। रोहितले ५८ रन जोड्दा रोहितले ५३ रन बटुले। 

रोहितले ८२ बल खेल्दा ४ चौका हिर्काए। ८१ बलमा २ चौका प्रहार गरेका आरिफको यो पहिलो एकदिवसीय अर्धशतक हो। 

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेल १ रन, आसिफ शेख १६ रन, ज्ञानेन्द्र मल्ल ४ रन र दीपेन्द्रसिंह ऐरी ८ रनमा आउट भएका थिए।

नेपालले ४ विकेट गुमाउँदा ४२ रन मात्र जोडेको थियो। त्यसपछि रोहित र आरिफले पाँचौ विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। यो नेपालका एकदिवसीय खेलमा अहिलेसम्मकै ठूलो साझेदारी हो। 

बलिङमा पिएनजीका नोर्मन भानुआ,एलेई नाओ र रिले हेकुराेले २-२ विकेट लिए।

त्यसअघि युएई, पपुवा न्युगिनी र नेपालबीचको यो त्रिकोणात्मक सिरिजमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ८ विकेटको क्षतिमा २०४ रन जोड्यो।

शारजाहमा भएको खेलमा पपुवा न्युगिनीका लागि चर्ल्स अमिनीले सबैभन्दा बढी ५९ रन जोडे। सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले ८२ बलमा ७ चौका हिर्काए। 

नेपालका लागि सोमपाल कामीले तीन  विकेट लिए। उनले १० ओभरमा ४८ रन दिए।

आरिफ शेख, कप्तान सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्लले एक-एक विकेट लिए। नेपालले पपुवा न्युगिनीका दुई ब्याट्सम्यानलाई रनआउट गर्‍यो।

आरिफले पपुवा न्युगिनीका ओपनर टोनी उरालाई २७ रनमा आउट गरे। अर्का ओपनर लेगा सिएकालाई सन्दीपले २५ रनमा बोल्ड गरे। 

पपुवा न्युगिनीका कप्तान असद भालालाई ज्ञानेन्द्र मल्लले १९ रनमा आउट गरे। ज्ञानेन्द्रले कुशल भुर्तेलबाट क्याच गराएका थिए। 

ज्ञानेन्द्रले एकदिवसीय खेलमा पहिलो विकेट लिएका हुन्। उनले एकदिवसीय खेलमा पहिलो पटक बलिङ गरेका हुन्।

ज्ञानेन्द्रले पपुवा न्युगिनीका हिरी हिरीलाई पनि रनआउटको सिकार बनाएका थिए। शून्यमा रनआउट गराउने क्रममा उनले उत्कृष्ट फिल्लिङ गर्दै विकेटकिपर विनोद भण्डारीबाट रनआउट गराए।

१२ बलमा २३ रन जोडेका नोर्मन भानुआलाई पनि दीपेन्द्रसिंह ऐरीले विनोदबाट रनआउट गराएका थिए।

सोमपालले चाड सोपर ३५ रनमा र एलेइ नाओलाई २ रनमा बोल्ड गरे।

Copy link
Powered by Social Snap