२०८० चैत्र १५

कालीगण्डकी-तिनाउ डाइभर्सन मदन भण्डारीको सपना हो, पूरा गरेरै छाड्छौं- विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना बन्दैन कि भनेर कसैले आशंका गर्नुपर्ने जरूरी नभएको बताएका छन्।

कालीगण्डकी तिनाउ डाइभर्सन आयोजना जननेता मदन भण्डारीको सपना भएको उल्लेख गर्दै उनले यो आयोजना पूरा गरेरै छाड्ने दाबी गरे।


Advertisement


नेकपा एमाले बुटवल उपमहानगर कमिटीले सोमबार आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने,‘यो आयोजना विष्णु पौडेलले देखेको सपना होइन, जननेता मदन भण्डारीले देखेको सपनालाई विष्णु पौडेलले पछ्याएको योजना हो, एमालेले पछ्याएको योजना हो।’

पौडेलले एमालेको पाँचौं महाधिवेशनमै मदन भण्डारीले प्रस्तुत गरेको जनताको बहुदलीय जनवादमा कालीगण्डकीको पानी तिनाउमा खसाउनका लागि डाइभर्सन आयोजना कार्यान्वयन गरिने छ भनेर उल्लेख गरिएको बताए।

पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको सच्चाई बुझ्न नचाहनेहरूले विभिन्न गलत प्रचार गरी मुद्दा मामिलामा उत्रिए पनि अदालतले समेत यो आयोजना रोक्न सम्भव नभएको र आयोजना नरोक्ने दाबी गरे।

‘आयोजनाको डिपिआर सकिएको छ, केही संकीर्ण मानिसले अदालतमा मुद्दा हालेका कारण स्टे गरिएको छ, तर अदालतले पनि यो आयोजनालाई रोक्न सक्दैन, हामीले यो आयोजना ल्याउँछौं, ल्याउँछौं’, उनले भने।

उनले राम्दीदेखि तल्लो तटमा पानीको अभाव हुन्छ भनेर प्रचार गरिए पनि तल्लो तटमा पानीको अभाव हुन नदिन रिडी र रुद्रबेनीको बीचमा २५ सय मेगावाटको जलाशय निर्माण गरिने बताए।

पौडेलले विश्व बैंकको लगानीमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत तिनाउ नदीमाथि ‘सिग्नेचर’ पुल बन्ने पनि बताए।

पूर्वअर्थमन्त्री समेत रहेका नेता पौडेलले एमाले सरकारले अगाडि सारेका महत्वपूर्ण विकास आयोजनाहरू वर्तमान सरकारले हटाएको भन्दै ती आयोजना पूरा गर्न आगामी निर्वाचनमार्फत् एमाले सरकारमा पुग्नुपर्ने दाबी गरे।

एमालेका विचार, नीति र सिद्धान्तलाई सरकार र राज्यका नीतिका रूपमा कार्यान्वयन गर्न सबै निर्वाचनमा एमालेले जित्नुपर्ने र त्यसको लागि आजैदेखि लाग्न नेता कार्यकर्तालाई उनले आग्रह गरे।

‘हिजोको लडाइँ जितेर सरकारमा पुगेकै कारण धेरै विकासका काम अगाडि बढाएका थियौं, अब ती काम पूरा गर्न फेरि पनि हामीले जित्नुपर्ने छ,’ पौडेलले भने।

नेता पौडेलले नेकपा माओवादी एक्लै चुनावमा जान अत्तालिएर नेपाली कांग्रेसको औंला समातेर हिँड्न खोजिरहेको उल्लेख गर्दै अरू सबै पार्टी एक ठाउँमा भए पनि एमाले एक्लैले सामना गर्न तयार रहेको बताए।

‘कांग्रेस र माओवादीको गठबन्धनलाई २०७४ सालको चुनावमा पनि हामीले एक्लै सामना गरेका थियौं, अहिलेको गठबन्धन भएपनि एक्लै सामना गर्ने ताकत एमालेमा छ,’ उनको भनाइ छ।

पौडेलले दशौं महाधिवेशनबाट एमाले नै देशको नेता शक्ति रहेको र यो विभाजित भएको छैन भन्ने पुष्टि गरेको दाबी गर्दै तिनै तहका सरकार निर्माण नगर्दा सम्म विश्राम नलिने बताए।

‘नेकपा एमालेसँग सही विचार छ, फराकिलो जनआधार छ, देशका प्रत्येक वडा र टोलमा एमाले छ, यतिमात्र होइन विदेशमा पनि जहाँ नेपाली, त्यहाँ एमाले पुगेको छ।’

नेता पौडेलले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धि हासिल गर्ने, सामाजिक न्याय सुनिश्चित गर्ने र समाजवादको आधार निर्माण गर्ने एमालेको स्पष्ट कार्यदिशा रहेको उल्लेख गर्दै सोही कार्यदिशा र उद्देश्यतर्फ अगाडि बढ्न नेता/कार्यकर्तालाई आग्रह गरे।

प्रशिक्षण कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेपाल र नेपालीको प्रगतिको बाधक दक्षिणपन्थी अवसरवाद रहेको उल्लेख गर्दै दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताए।

ज्ञवालीले पार्टीभित्र बसेर पार्टीको विकासका बाधक बनेकाहरू छोडेर बाहिर गएपछि एमाले गतिशील बन्दै गएको दाबी गरे।

‘पार्टीभित्रका भाइरसहरू पार्टीको गतिमा ओट बनेर बस्दा पार्टीको गाडी अगाडि बढ्न सकेको थिएन, चालकले अगाडि बढाउन खोजे पनि घ्यार घ्यार मात्र भइरहेको थियो, ती ओट निस्किएपछि गतिशील बनेको छ,’ उनले भने।

Copy link
Powered by Social Snap