२०८१ बैशाख ८

पढाइ र जागिरसँगै ‘घरमै प्रोडक्सन’ सम्हाल्छिन् १८ वर्षीया अनुग्रह

उनले जम्मा दस हजार रूपैयाँ लगानीमा सुरू गरेकी हुन् यो व्यवसाय

‘कति कुरा…’, ‘सम्झना’, ‘मःम माया’, ‘नोस्टाल्जिया’। 

‘घरमै प्रोडक्सन’ले करिब एक वर्षदेखि आफ्ना साना रंगीन नोटबुकलाई चिटिक्क परेका चित्रसहित यस्ता शब्दहरूले सजाएको छ। यी शब्दले युवाहरूको भाव झल्काउँछ र हरेक नोटबुकको डिजाइनपछाडि अर्थ लुकेको पाइन्छ।

‘क्युट’ नोटबुक, बुकमार्क र गितार जर्नल घरमै प्रोडक्सनका विशेष उत्पादन हो। यसबाहेक ब्रान्डकी सञ्चालक अनुग्रह घलेको मुख्य ध्यान भने आफ्ना उत्पादनमार्फत कलाकारका मौलिक सीप चिनाउनु हो। 

बजारमा अरू कलाकारका चित्र चोरेर त्यसलाई स्टिकर वा लुगाहरूमा प्रयोग गर्ने काम अनुग्रहलाई चित्त बुझ्दैन। विदेशमा गैरकानुनी मानिने यस्तो काम हामीकहाँ कुनै डरधक गरेको देख्दा उनलाई दिक्क लाग्छ। त्यसैले उनी नयाँ काम गरेर यो प्रवृत्तिमा परिवर्तन खोजिरहेकी थिइन्। 

यसबारे सोच्ने मौका भने उनलाई गत वर्ष लकडाउनको फुर्सदले जुराइदियो।

‘मलाई नेपालमा कला र कलाकारको महत्व बढाउने र उपभोक्ताको भावनासँग जोडिएको

उत्पादन बनाउन मन थियो,’ १८ वर्षीया अनुग्रहले भनिन्, ‘मान्छेहरू बाहिरी रमझममा रमाउँदा रमाउँदै आफ्नो पहिचान गुमाइरहेका छन्। म उनीहरू आफ्ना मनका कुरा शब्दमा उतारेर आफूसँग जोडिन सकून् भन्ने चाहन्थेँ। यही सोचमा नोटबुक र जर्नल बनाउने आइडिया आएको हो।’ 

घरमै प्रोडक्सन अनुग्रहले १२ वर्षकी हुँदै अनौपचारिक रूपमा सुरू गरेकी थिइन्। उनका अनुसार त्यो बेला उनले एक अनलाइन मिडियाबाट युकुलेले (वाद्यवादन) किनेकी थिइन्। उनले आज आफूले किनेको सामानको मूल्य भोलिपल्टै घट्ने, बढ्ने भएको याद गरिन्।


Advertisement


‘प्रायः अनलाइन मिडियाले यसरी उपभोक्ता ठगेको थाहा पाएपछि मैले घरबाटै सस्तो मूल्यमा त्यही सामान बेच्ने सोचेँ,’ उनले भनिन्, ‘अनि आफ्नो अनौपचारिक ब्रान्डलाई नाम दिएँ घरमै प्रोडक्सन।’

बीचमा उनले आफ्नो पढाइलाई प्राथमिकता दिन यो काम रोकिन्। मनमा नयाँ काम गर्ने हुटहुटी भने रोकिएन। केही समयपछि त्यो रहर ब्युँताएर उनले ब्रान्डलाई आधिकारिक रूपमा सञ्चालन गरिन्।  

अनुग्रहले दस हजार रूपैयाँ लगानीमा नोटबुक, जर्नल र बुकमार्कहरू बनाउन थालेकी हुन्। सुरूमा उनले युट्युबमा हेरेर नोटबुक आफैं बनाउने कोशिस गरेकी थिइन्। ती नमूना सोचेझैं राम्रा भएनन्। त्यसैले यसको उत्पादन जम्मा यही क्षेत्रका अनुभवी व्यक्तिलाई दिइन्।

नोटबुक र जर्नल किताब बजारमा जहाँ पनि पाइन्छ। अनुग्रहका उत्पादन भने बाहिर पाइनेभन्दा अलि फरक छन्। उनका नोटबुक र जर्नल ‘डटेड’, ‘ग्रिड’, ‘लाइन्ड’ र ‘हनी कम्ब’ प्याटर्नमा हुन्छन्। यीमध्ये हनी कम्ब नोटबुक घरमै प्रोडक्सनबाट नेपालमै पहिलोपटक भित्रिएको उनको दावी छ।

‘हामीले लेख्ने कापीका सबै डिजाइन उस्तै हुन्छ। त्योबाहेक अन्य प्याटर्नका नोटबुकमा लेख्ने होइन भन्ने मानसिकता भइसक्यो,’ उनी भन्छिन्, ‘इन्टरनेटमा खोजी गर्दा विदेशमा फरक प्याटर्नका नोटबुक चल्तीमा रहेछ। नेपालमा नपाउने भन्ने होइन, तर यहाँ निकै कम ठाउँमा पाइन्छ र अलि महँगो पनि हुन्छ।’

घरमै प्रोडक्सनका बुकमार्क तीस रूपैयाँ, पोस्टकार्ड चालीस रूपैयाँ, नोटबुक एक सय तीसदेखि दुई सय पचास रूपैयाँसम्म पर्छ। यसको सबभन्दा महँगो उत्पादन भनेको गितार जर्नल हो जसको मूल्य तीन सय रूपैयाँ मात्र छ। 

भर्खरै व्यवसाय सुरू गर्दा अनुग्रहका साथीहरूले नै उनलाई बढी प्रोत्साहन गरेका थिए। बिस्तारै ग्राहकको संख्या बढ्दै हप्तामा बीस वटाभन्दा बढी अर्डर आउन थाल्यो। अहिले काठमाडौं उपत्यकाभित्र र बाहिर काकरभिट्टा, पोखरा, वीरगञ्ज लगायत ठाउँबाट अर्डर आउँछ। उनले वर्षमा दुई लाख तीस हजार हाराहारी कमाइ गर्छिन्, महिनामा करिब २० हजार रूपैयाँ।

सुरूमा नोटबुकका लागि अनुग्रह आफैं चित्रहरू बनाउँथिन्। अहिले उनीसँग करिब १४ जना कलाकार काम गरिरहेका छन्। यसबापत उनीहरू सबैलाई रोयल्टी सेयर दिइरहेको उनले बताइन्।

‘हाम्रो उत्पादन कसैको कला चोरेर बनाइएको होइन,’ उनी भन्छिन्, ‘घरमै प्रोडक्सन अन्तर्गत काम गर्ने आर्टिस्टलाई उहाँहरूको कला प्रयोग गरेबापत भुक्तानी दिइरहेका छौं। अहिले हामीसँग बाह्र वटा आफ्नै मौलिक डिजाइन छन्।’

ब्रान्डको कामसँगै अनुग्रह एक कम्पनीमा जागिर गर्दैछिन् भने बिबिए पढिरहेकी पनि छन्। बिहान पढाइमा व्यस्त हुन्छिन्, दस बजेदेखि ६ बजेसम्म जागिरमा जान्छिन् र बाँकीको समय घरमै प्रोडक्सनमा काम गर्छिन्। 

‘मलाई आफ्नो उत्पादनलाई अगाडि बढाउन मन छ। सँगै बाहिरी बजार र काम गर्ने तरिका पनि बुझ्नु थियो,’ उनी भन्छिन्, ‘जागिर गरेर मेरो ब्रान्डलाई कुनै असर परेको छैन। बरू यसले मलाई अझै धेरै ज्ञान र नेटवर्क बनाउन सहयोग भइरहेको छ।’

सानै उमेरमा काम र व्यवसायमा व्यस्त अनुग्रहलाई बाहिरफेर घुम्ने फुर्सद छैन। जति बेलै काममै हुन्छिन्। आफूसँगैका साथीहरू बाहिर घुम्दा, रमाइलो गरेको देख्दा उनलाई दुःख पनि नलाग्ने बताउँछिन्।

‘मेरा लागि रमाइलोको अर्थ छुट्टै छ। म आफ्नो मनले चाहेको काम गरेर, पढेर, परिवारसँग समय बिताएर रमाउँछु। बाहिरी रमझमले मलाई आकर्षित गर्दैन,’ उनले भनिन्।

आफू आँटिलो भएर काम गरे पनि खुट्टा तान्नेहरूको कमी नभएको अनुभव उनको छ। उनका अनुसार सुरूमा कतिले उमेरकै कारण उनको काम पत्याएनन्। सानै उमेरमा व्यवसाय सञ्चालन गरेको देखेर कतिपयले उनलाई प्रतिस्पर्धीका रूपमा पनि लिन्छन्।

उनी भन्छिन्, ‘मेहनत गरेर अगाडि बढ्दा पनि समर्थन नपाउँदा कहिलेकाहीँ काम छोड्दिन मन लाग्छ। अनि फेरि मैले यो काम किन सुरू गरेँ भनेर सम्झिन्छु र मन थाम्छु।’ 

अनुग्रहले परिवारबाट भने सधैं साथ पाएकी छन्। काम सफल, असफल जे भए पनि आमाबुबाले पढाइसँगै बाहिरी कामको अनुभव लिन उनलाई प्रोत्साहन गर्छन्।

यही माया र सहयोगले अनुग्रहलाई हरेक दिन कामलाई निरन्तरता दिन प्रेरणा मिल्छ। यो प्रेरणा उनी नयाँ व्यवसाय गर्न चाहने युवापुस्तालाई बाँड्न चाहन्छिन्।

‘मेरा उत्पादनलाई ग्राहकले देखाएको मायाका कारण म हरेक दिन कृतज्ञ महसुस गर्छु,’ अनुग्रह भन्छिन्, ‘मेरा केही साथी काम कसरी सुरू गर्ने भनेर सोध्नुहुन्छ। यसमा मेरो एउटै जवाफ हुन्छ– तिमी काम सुरू गर, बाटो आफैं बन्दै जान्छ। अरूको सिको गर्नु हुँदैन। आफू जुन कुरामा अब्बल छौं, त्यसलाई ध्यानमा राखेर धैर्यसाथ अगाडि बढ्नुपर्छ।’

(घरमै प्रोडक्सनको फेसबुकका लागि यहाँ र इन्स्टाग्रामका लागि यहाँ क्लिक गर्नुहोस्।)

Copy link
Powered by Social Snap