२०८० चैत्र १६

सन्दीप लामिछाने आईपीएलको मेगा अक्सनमा

काठमाडौँ — नेपालका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनमा छानिने एक्लो नेपाली खेलाडी भएका छन् । आईपीएलले फेब्रुअरी १२ र १३ मा भारतको बेंग्लोरमा आयोजना गर्न लागेको मेगा अक्सनका लागि मंगलबार खेलाडी सूची सार्वजनिक गरेको छ । 


Advertisement


नेपालबाट १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गराए पनि अन्तिम सूचीमा २१ वर्षे सन्दीपमात्र समेटिएका हुन् । दुई दिने मेगा अक्सनका लागि ५ सय ९० खेलाडी अन्तिम सूचीमा परेका छन् । त्यसमध्ये २ सय १५ विदेशी खेलाडी छन् । सन्दीप एसोसिएट खेलाडीको सूचीमा छन् । उनीसहित यो सूचीमा नामिबियाका डेविड वाइज, अमेरिकाका अली खानलगायत खेलाडी छन् ।

दर्ता नभएका ४४ खेलाडीले अक्सनमा प्रवेश पाएका छन् । फ्रेन्चाइज टोलीहरूले दर्ता नभएका खेलाडीलाई पनि आफ्नो अनुरोधमा अक्सनमा समावेश गराउन पाउने प्रावधान छ । सन् २०१८ मा सन्दीपलाई दिल्ली डेयरडेभिल्स (हाल : दिल्ली क्यापिटल्स) ले अक्सनमा राखेर न्यूनतम मूल्य २० लाख भारु भाउ लगाएको थियो । त्यसपछि सन्दीपले दिल्लीमा तीन वर्ष बिताए ।

पहिलो वर्ष दिल्लीले अन्तिम ३ खेलमा मौका दिँदा सन्दीपले ५ विकेट लिएका थिए । २०१९ मा दोस्रो वर्ष दिल्लीबाट उनले ६ खेलमा ८ विकेट लिएका थिए । २०२० मा यूएईमा भएको आईपीएलमा सन्दीपलाई दिल्लीले कुनै खेलमा समावेश गराएन । त्यसपछि दिल्लीले सन्दीपलाई रिलिज गरेको थियो ।

गत वर्ष सन्दीपले आईपीएलको मिनी अक्सनमा ४० लाख भारु आफ्नो ‘बेस प्राइस’ राखेका थिए । तर उनीमाथि कुनै भाउ लागेको थिएन । यसपालि पनि अक्सनका लागि सन्दीपले आफ्नो पारिश्रमिक ४० लाख भारतीय रुपैयाँ तोकेका छन् । ४८ खेलाडी अक्सनमा आफ्नो भाउ २ करोड भारु तोकेका छन् । त्यस्तै २० खेलाडीले १ करोड ५० लाख र ३४ खेलाडीले १ करोड भारु आफ्नो भाउ राखेका छन् ।

श्रेयस अय्यर, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, प्याट कमिन्स, क्विन्टन डी कक, शिखर धवन, फाफ डु प्लेसिस, कागिसो राबाडा, मोहम्मद सामी, डेविड वार्नरलगायतका खेलाडीको अक्सनमा भाउ २ करोडदेखि सुरु हुनेछ । यसै सिजनदेखि आईपीएलमा ८ टिमलाई बढाएर १० पुर्‍याइएको छ । लखनउ सुपर जायन्ट्स र टिम अहमदाबाद नयाँ फ्रेन्चाइज टोली हुन् ।

Copy link
Powered by Social Snap