२०८१ बैशाख ११

प्रहरीमा तीन र सशस्त्रमा एक एआईजी थप्‍ने तयारी

काठमाडौँ — सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)मा अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी बढाउने तयारी गरेको छ । नेपाल प्रहरीमा तीन र सशस्त्रमा एक एआईजीको दरबन्दी बढाउन अर्थ मन्त्रालयले सैद्धान्तिक स्वीकृति दिएको हो ।


Advertisement


सहमतिसहितको फाइल अर्थले गृहमा पठाइसकेको स्रोत बताउँछ । दरबन्दी थप्ने सम्बन्धी दुवै प्रहरीबाट आएका प्रस्तावमा गृह मन्त्रालयले आन्तरिक छलफल गरी सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।

अर्थले प्रहरीमा तीन र सशस्त्रमा एउटा दरबन्दी बढाउन सहमति दिएको स्रोतले बतायो । स्रोतका अनुसार सशस्त्र प्रहरीमा हाल २ वटा एआईजीको दरबन्दी छ । कार्य तथा सीमा विभाग र मानवस्रोत तथा प्रशासन विभाग रहेकोमा कार्यबाट सीमा विभाग अलग गरी सीमा सम्बन्धी मामिला हेर्न एआईजीको नेतृत्वमा सीमा विभाग बनाउने तयारी छ । त्यसकै लागि एआईजीको दरबन्दी थप्न प्रक्रिया अघि बढाइएको स्रोत बताउँछ ।

यसैगरी प्रहरीमा प्राविधिक १ र साधारण सेवातर्फ ५ गरी एआईजीको संख्या ६ छ । साधारण सेवातर्फ अब ३ वटा थपेर ८ पुर्‍याउन लागिएको गृह स्रोत बताउँछ । प्रहरीमा एआईजीको नेतृत्वमा प्रदेश समन्वय विभाग बनाउने तयारी छ । त्यस्तै मानवस्रोत तथा प्रशासन विभाग फुटाएर मानव स्रोत र प्रशासन विभाग भिन्ना भिन्नै बनाउन लागिएको छ ।

त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरोमा पनि एआईजीको दरबन्दी राख्ने तयारी छ । हाल ब्यूरो डीआईजीको नेतृत्वमा छ । स्रोतका अनुसार गृह मन्त्रालय छिट्टै मन्त्रिपरिषद्‌मा दुवै प्रहरीको दरबन्दी थप्ने प्रस्ताव पेस गर्ने तयारीमा छ । एआईजी बढुवाका लागि प्रहरीमा एक दर्जन डीआईजी बढुवाका आकांक्षी छन् । त्यस्तै, सशस्त्र प्रहरीमा माघ २५ पछि २ डीआईजी खड्ग राई र मन्दिप श्रेष्ठ पदावधिका कारण अवकाशमा जान्छन् । थपिएको दरबन्दी भने उनीहरुको अवकाशपछि मात्रै बढुवा गर्ने तयारी रहेको स्रोत बताउँछ ।

Copy link
Powered by Social Snap