२०८० चैत्र १६

स्थानीय तहको निर्वाचनबारे के भन्छन् कानुनविद्हरू?

कानुनविद्हरूले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कानुनविद्हरूले सरकारले स्थानीय तहको निर्वाचन संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन्। 


Advertisement


कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेश सभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए। 

उनले स्थानीय तहमा चरणको कुनै कुरा नै नभएकोले यो स्थानीय तहमा ल्याउनु भनेको प्रदेश सभा निर्वाचन ऐन कपी पेस्ट गर्नुको परिणाम भएको बताए। 

वरिष्ठ अधिवक्ता महतोले एकै पटक निर्वाचन गर्ने नाउँमा सात वटा प्रदेश सभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रष्ट पारे।

वरिष्ठ अधिवक्ता महतोले भने, ‘योभन्दा अघि जुन जुन मितिमा चुनाव भएको थियो त्यही मितिमा स्थानीय तहको चुनाव गरिनुपर्छ। ताकि संविधान र कानुनको मर्म, जुन ५ सालको जीवन छ स्थानीय तहको। हरेक स्थानीय तहलाई ५ वर्षको ग्यारेन्टी छ। असारमा चुनाव भएको छ भने असारमा ५ वर्ष पुग्छ, वैशाखमा भए वैशाखमा, त्यसलाई घटबढ गर्न मिल्दैन। स्थानीय तह निर्वाचन ऐन त्रुटिपूर्ण छ, त्यो गलत छ। प्रदेश सभा निर्वाचन ऐन कपी पेस्ट गर्नुको परिणाम हो। स्थानीय तहमा चरणको कुनै सबाल नै छैन। चरणको कल्पना नै भएको छैन। तीन तहको निर्वाचन एकैपटक त्यो कसरी सम्भव होला ?’ 

कार्यक्रममा कानुनविद् डा. सुरेन्द्र भण्डारीले अहिलेको निर्वाचन प्रणाली पैसा, गुण्डा र छलकपटमा नै आधारित भएको भन्दै नेपालमा संसदीय निर्वाचन प्रणाली असफल भएको दाबी गरे।

उनले संकटको समयमा मात्रै संसद र प्रदेश सभाको निर्वाचन वर्ष दिनसम्म लम्ब्याउन पाइने उल्लेख गर्दै अहिले संकट नभएकोले समयमै निर्वाचन गराउनु पर्नेमा जोड दिए। 

उनले निर्वाचन लम्ब्याउने कुरा नगरी यथास्थितीमा नै निर्वाचन गराउनुपर्ने बताए।  

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले तीन तहको निर्वाचन एउटै चरणमा गर्न व्यवस्थापकीय दृष्टिकोणबाट पनि सम्भव नभएको भन्दै एउटै मितिमा निर्वाचन गर्न नमिल्ने बताए। 

उनले एकै चरणमा तीन तहकै निर्वाचन गरिनुपर्छ भन्ने कुरा कपटपूर्ण र लोकतन्त्रविरूद्धको षड्यन्त्र भएको आरोप लगाए।

वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘यो तीन तहकै निर्वाचन कुन आएको छ। यी तीन तहको निर्वाचन एउटै मितिमा किन सम्भव छैन भने पहिला एउटै मितिमा निर्वाचन भएको थिएन। यसको कार्यकाल फरक मितिमा सुरू भएकोले अहिले एउटै मितिमा निर्वाचनको कुरा हामी नगरौं। यसै पनि तीन तहको निर्वाचन एउटै चरणमा व्यवस्थापकीय दृष्टिकोणले पनि सजिलो छैन। हामीले एकै तहको निर्वाचन त एउटै मितिमा गर्न नसकेर स्थानीय निर्वाचन नै  तीन पटकमा गरेका छौं। संसदको चुनाव पनि विभिन्न चरणमा गर्नुपरेको छ। त्यसैले एउटै मितिमा गर्नुपर्छ भन्ने कुरा संवैधानिक रूपमा पनि सम्भव छैन र व्यवहारिक रूपमा पनि।’

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का नेता डा. खिमलाल देवकोटाले स्थानीय तहको चुनाव समयमै गर्ने बताए। उनले अहिले सबै दल र आम नागरिकहरू स्थानीय तहको चुनाव गर्नुपर्ने भनेर लागिरहेकोले त्यसमा कुनै संशय नगर्न पनि आग्रह गरे। 

नेता देवकोटाले भने, ‘स्थानीय तहको चुनाव समयमै नगर्ने भन्ने कुनै सवाल नै छैन। मलाई लाग्छ कोही पनि अहिलेको सत्तापक्ष दलदेखि लिएर कोही पनि स्थानीय तहको चुनाव समयमै गर्नुपर्छ भनेका छौं। अर्को कुरा अर्ली इलेक्सनको कुरा आएको छ, स्थानीय तहको चुनावसँगै प्रतिनिधि सभाको चुुनाव गर्न सकिन्छ कि सकिँदैन भनेर प्रतिनिधि सभा र प्रदेश सभा एकैपटक भएको थियो, अब अहिले किन छुटाउने भन्ने कुरा हो।’

नेता देवकोटाले यसअघि प्रतिनिधि सभाको चुनाव र प्रदेश सभाको चुनाव एकै पटक गरिएको भन्दै यसपटक पनि त्यसलाई सँगै लिएर जाने कुराको बहस गर्न आवश्यक रहेको बताए। 

Copy link
Powered by Social Snap