२०८० चैत्र १६

हिमालय शेर्पालाई हराउँदै पुलिस क्वार्टरफाइनलमा

नेपाल पुलिस क्लब पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार पोखरामा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।


Advertisement


निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरी भएपछि थपिएको अतिरिक्त समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पनि ४-४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सडेन डेथबाट निर्णय लिएको हो।

सडेन डेथमा हिमालयन शेर्पाका पूर्णबहादुर गुरूङको प्रहार नेपाल पुलिसका गोलकिपर रोशन खड्काले बचाएका थिए।

सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजेले गोल गरेका थिए भने शेर्पाका जीवन गुरूङले मात्र गोल गरेका थिए।

त्यसअघि पेनाल्टी सुटआउटमा पुलिसका कपिल ढकाल र शेर्पाका अर्लिच सिवे गोल गर्न चुकेका थिए।

पेनाल्टीमा पुलिसका तिर्थ रानामगर, निरकुमार राई, सुमन सुवेदी र भोला शिलवालले गोल गरेका थिए। 

यस्तै हिमालयन शेर्पाका लागि त्रिदेव गुरूङ, आशिश गुरूङ, विश्वास श्रेष्ठ, पिस्तोनल मुतुम्बाले गोल गरेका थिए।

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै टोलीले १-१ गोल गरेका थिए। खेलको ५२ औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए। उनले तीर्थ रानामा मगरको पासमा गोल गरेका थिए।

खेलको ५९ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

पुलिसले अब अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिश्पर्धा गर्नेछ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २-० ले हराउँदै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ। 

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ। 

Copy link
Powered by Social Snap