


उज्वेकिस्तानको तास्कन्त शहरमा संचालन हुने एएसबीसी यू–२२ पुरुष-महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङले प्रतिस्पर्धा गर्ने भएकी छिन्।
Advertisement



उनले महिला ४८ केजी मुनी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। प्रतियोगितामा भाग लिन सुष्मासहित प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकार जाँदैछन्।
तीनै जनालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सोमबार विदाई गरे।
सुष्मा काठमाडौंमा सम्पन्न प्रकाश दाहाल स्मृती दोश्रो राष्ट्रिय बक्सिङ्ग प्रतियोगिताका स्वर्ण पदक विजेता हुन्।

उनी गत वैशाखमा पोल्यान्डमा सम्पन्न आइबा युथ बक्सिङ च्याम्पियनसिपमा लिथुवानियाकी खेलाडीलाई पराजित गरी विश्व युवा बक्सिङ्गमा क्वाटरफाइनलसम्म पुगेकी थिइन्। विश्व युवा बक्सिङ्ग र्याकिङमा उनी छैटौं स्थानमा छिन्।
कार्यक्रममा नेपाल बक्सिङ्गका संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीलगायतको उपस्थिति थियो।
यही जनवरी २० देखि ३० तारिखसम्म हुने उक्त प्रतियोगितामा एशिया महादेशका २५ भन्दा बढी राष्ट्रको सहभागीता हुनेछ। नेपाली टोली मंगलबार तास्कन्त प्रस्थान गर्दै छ ।





