२०८० चैत्र १६

प्रदेश २ को नाम र राजधानी तोक्न आज मतदान हुँदै, मधेस र जनकपुरका लागि कसरत जारी

प्रदेश २ को स्थायी राजधानी र नामाकरणका लागि सोमबार मतदान हुन लागेको छ। 

सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले साझा प्रस्ताव ल्याउन विफल भएपछि दोस्रो पटक नाम र राजधानी टुंगो लगाउन मतदान प्रक्रिया अपनाउन लागिएको हो। 

दल तथा सांसदको आ-आफ्नै अडानका कारण समितिले नाम र राजधानी सम्बन्धी केही प्रस्ताव परिमार्जन गरेर घटाए पनि सहमती जुट्न सकेन। 


Advertisement


आइतबार बसेको प्रदेशसभा बैठकमा विशेष समितिको तर्फबाट प्रतिवेदन सार्वजनिक गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक परमेश्वर साहले गोप्य मतदानमा जानुपर्ने सहितका ६ वटा निष्कर्ष निकालेको जानकारी दिए। 

प्रतिवेदनमा पुस १५ देखि २७ गतेसम्म चलेको समितिको ८ वटा बैठकमा छलफलको माध्यमबाट ६ वटा नामको प्रस्तावलाई चार वटा र ६ वटा राजधानीको प्रस्तावलाई तीन वटामा सिमित गर्न सकेको उल्लेख छ। 

सोमबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकमा राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन पहिले मतदान हुने बताइएको छ। 

प्रतिवेदनमा उत्तरमा धनुषा ढल्केवरको पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारतको दशगजा सिमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्र भित्रको सम्पूर्ण भूभाग ‘जनकपुरधाम’ राजधानी प्रस्ताव गरिएको छ। 

दोस्रो, राजधानीको प्रस्तावमा ‘वीरगञ्ज’ रहेको छ। पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सा गढी नगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ हुँदै सिम्रोनगढभित्रको भूभाग यस प्रस्तावमा समेटिएको छ। 

जसपाका सांसद सिंगासन साह कल्वार यसका प्रस्तावक छन् भने लोसपाका सांसद प्रह्लाद गिरी गोस्वामी, जसपाकी सांसद करिमा बेगम र भीमा यादवले प्रस्तावको समर्थन गरेका छन्। 

त्यसैगरि तेस्रो प्रस्तावमा वीरगञ्जमा वीरगञ्ज महानगरपालिका भरिको भूभाग उल्लेख गरिएको छ। जसको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् भने कांग्रेसकै शंकर प्रसाद चौधरी, ओम प्रकाश शर्मा र असिया देवी थरुनी समर्थक छन्। 

त्यसैगरि समितीले मतदानका लागि  ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ नाम प्रस्ताव गरेको छ। 

सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रको संयुक्त प्रस्ताव ‘मधेश प्रदेश’ मा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले समर्थन गरेको छ।

‘मधेश’ नामको प्रस्तावकमा जसपाका प्रमुख सचेतक शैलेन्द्र कुमार यादव र माओवादी केन्द्रका संसदीय दलका नेता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह छन्। वविता कुमारी, रानी कुमारी तिवारी, सावित्री देवी साह, जगत प्रसाद यादव र दिलीप साहले सो प्रस्तावको समर्थन गरेका छन्। 

नेपाली कांग्रेसले ‘मिथिला भोजपुरा’ नाम प्रस्ताव गरेको छ । कांग्रेसका प्रदेश सांसद शिवचन्द्र चौधरीले यसको प्रस्ताव गरेका छन् भने नागेन्द्र प्रसाद सिंह, प्रमिला देवी दास र मञ्जु कुमारीको समर्थन छ। 

नेकपा (एकीकृत समाजवादी) ले ‘जानकी प्रदेश’ को प्रस्ताव गरेको छ। यस प्रस्तावमा प्रतिपक्षी दल नेकपा एमालेको समर्थन छ। नेकपा एसका प्रदेश मामिलामन्त्री प्रमोद कुमार यादवले गरेको यस प्रस्तावमा सांसदहरु बेची लुंगेली, दिल्ली प्रसाद उप्रेती र नागेन्द्र राय यादव समर्थक छन् । 

त्यस्तै ‘मध्य मधेश प्रदेश’ नामको प्रस्तावक कांग्रेसका राजेश्वर प्रसाद साह छन् भने समर्थकहरु कांग्रेसकै शंकर प्रसाद चौधरी, ओम प्रकाश शर्मा र असिया देवी थरुनी हुन्। 

सत्तारूढसँगै विपक्षी दल तथा सांसदहरु विभाजित भएकाले दोस्रो पटक हुन लागेको मतदानबाट समेत राजधानी र नामाकरण टुंगो लाग्ने नलाग्ने सशंय छ। 

यसअघि चैत २०७६ मा पनि नाम र राजधानी टुंग्याउन गरिएको कुनै प्रस्तावमा दुई तिहाई मत पुग्न सकेको थिएन्। जसपाका एक सांसदले आजको मतदानमा समेत प्रदेशको नाम र राजधानी टुंगिने सम्भावना न्युन रहेको बताए। ‘मधेस प्रदेशको पक्षमा माहौल देखिएन भने दलको निर्णय विपरित राजधानीका लागि सांसदहरुले भोट गर्ने सम्भावना छ। पार्टीको लाइन विपरित कांग्रेस, जसपा र लोसपाका केही सांसदहरुले मोर्चाबन्दी पनि गरिसकेका छन्। हाम्रो पार्टीका अधिकांस सांसदले नाम मधेस भएन भने राजधानी पनि जनकपुर हुन सक्दैन भन्नुहुन्छ,’ ती सांसदले भने। 

यद्यपी नाम मधेस र राजधानी जनकपुरका लागि आइतवार अबेर रातिसम्म कसरत चलेको जानकारी दिए। ‘ढुक्क हुनुहोस् नाम र राजधानी टुंगिन्छ। दल तथा सांसदहरुको बीचमा आन्तरिक रुपमा कसरत जारी छ,’ ती मन्त्रीले भने। 

प्रदेशको नाम र राजधानी टुङ्ग्याउन कूल सांसद् १०४ जनाको दुई तिहाई मत आवश्यक पर्छ।

Copy link
Powered by Social Snap