२०८१ बैशाख १५

प्रधानमन्त्री कपको सेमिफाइनल समिकरण पूरा, देवको अर्धशतकमा लुम्बिनीले गण्डकीलाई हरायो

प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। समूह ‘ए’ को अन्तिम खेलअघि सेमिफाइल पूरा भएको हो।

समूह ‘ए’ बाट नेपाल पुलिस क्लब विजेता र त्रिभुवन आर्मी क्लब उपविजेताको रूपमा अन्तिम चारमा पुगेका छन्।

शीर्ष स्थानको पुलिसले लगातार तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ। दोस्रो स्थानको आर्मीको ५ अंक छ। तेस्रो स्थानको सुदूरपश्चिमले ४ अंक र चौथो स्थानको कर्णालीले २ अंक जोडेका छन्। पाँचौ स्थानको प्रदेश एकको १ अंक छ। यो समूहमा पुलिस र प्रदेश एकबीचको खेल बाँकी छ।


Advertisement


यता समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजेता र बागमति प्रदेश उपविजेता बनेर सेमिफाइनल पुगेका छन्।

एपिएफले ४ खेलबाट ८ अंक जोड्यो भने दोस्रो स्थानको बागमतिले ६ अंक बटुल्यो। लुम्बिनी प्रदेशले ४ अंक जोड्दा प्रदेश दुई र गण्डकीले २-२ अंक बटुले।

अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र बागमति प्रदेश तथा एपिएफ क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। दुवै सेमिफाइनल मंगलबार र फाइनल बुधबार हुनेछ।

यता समूह ‘बी’ को अन्तिम खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ विकेटले हराएको छ।

पहिले ब्याटिङ गरेको गण्डकीले १९.१ ओभरमा १०४ रनमै अलआउट भयो।

गण्डकीका लागि अनिल गुरुङले ५० रनको योगदान दिए। बलिङमा लुम्बिनीका अनिल खरेलले ४ विकेट लिए। कृष्ण कार्की र दीपेन्द्र रावतले २-२ विकेट हात पारे।

१०५ रनको लक्ष्य लुम्बिनीले १३.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

लुम्बिनीका लागि देव खनालले ५६ रन जोडे। उनले २६ बलमा १० चौका र १ छक्का हिर्काए। सुशान्त थापाले २६ रन जोडे। बलिङमा गण्डकीका सुवास भण्डारीले ३ विकेट लिन सफल भए।

Copy link
Powered by Social Snap