२०८१ बैशाख २२

९-५ बजेसम्म खुल्ने सरकारी संस्थाका कर्मचारीलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेका छौं: गृह मन्त्री

गृह मन्त्री बालकृष्ण खाणले मन्त्रालय अन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन पहल गरिरहेको बताएका छन्।


Advertisement


गृह मन्त्रालय मातहतको नेपाल निजामती कर्मचारी युनियनको ८ औं विभागीय अधिवेशनमा बोल्दै गृह मन्त्री खाणले मन्त्रालय अन्तर्गतका ९-५ बजेसम्म खुल्ने सरकारी संघसंस्थाहरूका कर्मचारीहरूलाई खाजा भत्ता उपलब्ध गराउन अर्थ मन्त्रालयसँग पहल गरिरहेको बताए।

उनले सरकारी कार्यालयहरूमा काम गर्ने अवधि बढाएपछि ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनु पर्ने बताए।

उनले हाल नागरिकता, इ-पासपोर्टका लागि लाइन रहेको सन्दर्भमा केही जिल्लाहरूले कार्यालयको समयावधि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बढाएको बताए।

गृह मन्त्री खाणले भने, ‘कतिपय जिल्ला प्रशासनले त्यहाँको जिल्ला प्रशासन कार्यालयमा १० देखि ४ सम्मको हाम्रो कार्यावधिलाई उहाँहरू आफैंले ९ देखि ५ बनाइदिनु भएको छ। हेर्दा सजिलो छ। १० बजे पुग्नलाई ९ बजे खानुपर्छ। ९ बजे पुग्नलाई ८ बजे नै खाना खानुपर्छ। अहिले अर्थ मन्त्रालयसँग हामीले कुरा गरिरहेका छौं। राम्रो प्रस्ताव हो भनेको छ तर सहमति दिइसकेको छैन। कम्तीमा हामीले काम गर्ने समयावधि बढाउँदा सुरक्षा निकायहरूलाई, गृह मातहतका निकाहरूलाई ओभरटाइम नदिए पनि कम्तीमा खाजा खाने भत्ता त दिनुहोस्। सर्भिस डेलिभरी दिनुपर्‍यो। त्यसले जनताको समय पनि बच्छ। लाइनमा समय नलागेपछि उहाँहरूले उत्पादनमा काम गर्नुहुन्छ, उद्योग, व्यवसाय गर्नुहोला। त्यसैले अर्थ मन्त्रालय यसमा उदार बनिदिनुहोस्।’

गृह मन्त्री खाणले कर्मचारीहरूलाई सरकारले सुविधा नदिए वा सरकार जनताप्रति उत्तरदायी हुन नसके कर्मचारीहरूले सरकारलाई सचेत गराउनुपर्ने बताए।

उनले सरकार र सरकारी कार्यालय सबैको साझा भएकोले सबैको सद्भाव हुने किसिमले काम गर्न पनि कर्मचारीहरूलाई निर्देशन दिए।

गृह मन्त्री खाणले सरकारले गरेका काममा सुझाव र प्रतिक्रिया दिने काम कर्मचारीहरूको भएकोले जनताको माग बुझेर सरकारलाई दबाब दिन पनि आग्रह गरे।

सरकारले कर्मचारी र कर्मचारीले सरकारलाई गालीगलौज गरेरमात्रै देशको विकास नहुने भन्दै भएका समस्याको समाधान गरेर अघि बढ्नुपर्ने बताए।

Copy link
Powered by Social Snap