


चीनको राष्ट्रिय फुटबल टिमबाट खेल्ने खेलाडीलाई शरीरमा ट्याटू खोप्न प्रतिबन्ध लगाइएको छ। यस्तै यसअघि खोपिएका ट्याटूलाई हटाउन पनि भनिएको छ। नयाँ नर्देशनअनुसार यो नियम लागू हुने भएको हो।
Advertisement



चीनको खेलकुदको प्रशासन निकायले राष्ट्रियस्तर र युवा टोलीमा ट्याटु बनाएका नयाँ खेलाडी भर्ना गर्न “कडा प्रतिबन्ध” गरेको बताएको छ।
प्रशासनले यो कदमले “समाजको लागि राम्रो उदाहरण” बनाउन मद्दत गर्ने बताएको छ।
डिफेन्डर झाङ लिनपेङसहितका स्टार खेलाडीहरु जसले पहिले नै ट्याटू खोपेका छन्, उनीहरूलाई ट्याटू छोप्न भनिएको छ।
चीनले सन् २०१८ को मध्यदेखि ट्याटू बनाउन रोक्नको लागि नियमनलाई बढाउँदै लगेको छ। केही व्यवसायिक फुटबलरहरूले आफ्नो शरीरको ट्याटू लुकाउन आफ्नो हात लामो बाहुलाले छोप्दै आएका छन्।

चीनको खेलकुदको प्रशासनले जारी गरेको एक विज्ञप्तिमा ट्याटु भएका राष्ट्रिय खेलाडीहरूलाई “हटाउन सल्लाह दिइयो” भनिएको छ।
“विशेष परिस्थिति र अभ्यास समयमा टिमसँगको सहमतिमा ट्याटू छोप्न पर्नेछ” विज्ञप्तिमा उल्लेख छ।
चिनियाँ संस्कृतिमा ट्याटू नराम्रो कुरासँग जोडिएको छ। ट्याटू विगतमा अपराधीहरूलाई जनाउन गर्न प्रयोग गरिन्थ्यो र ट्याटु अझै पनि पूर्वी एशियामा संगठित अपराध समूहहरूसँग जोडिने गरेको छ। जातीय समूहहरूबीच ट्याटूहरू प्रायः असभ्यताको चिन्हको रूपमा हेरिन्थ्यो।


