२०८० चैत्र १५

चुनाव हुने कहिले कहिले, नागरिकता बनाउन कार्यकर्ता ओसार्दै नेता

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउनेको भिड।

बुधबार दिउँसो सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्मालाई इच्छाकामना गाउँपालिकाका एक वडाध्यक्षको फोन आयो।

वडाध्यक्षले मोवाइलमा भने, ‘म भोलि गाउँका मान्छेहरू लिएर नागरिकता बनाउन आउँदैछु है सर।’ 

सहायक प्रजिअले जवाफ दिए, ‘२५ जना जति मात्रै ल्याउनुहोला, अन्तबाट पनि धेरै आउँदैछन्। धेरै लिएर आउँदा एकै दिनमा सक्न गाह्रो पर्छ।’

सहायक प्रजिअ शर्मालाई केही दिनयता यस्ता फोनहरू धेरै आइरहेका छन्। 


Advertisement


‘चुनाव आउन लागेर होला गाउँबाट नेताहरू कार्यकर्ता बोकेर प्रशासन कार्यालय आउने क्रम निकै चलिरहेको छ,’ शर्माले भने, ‘एउटै नेताले तीन गाडीसम्म कार्यकर्ता बोकेर आएको पनि पाइयो।’

चितवनको एकमात्र गाउँपालिका इच्छाकामना, कालिका र राप्ती नगरपालिकाका पहाडी गाउँ र भरतपुर महानगरपालिका, माडी, रत्ननगर र खैरहनी नगरपालिकाका विकट र सुकुमबासी बस्तीबाट नागरिकता बनाउन आउनेको जिल्ला प्रशासनमा घुइँचो लाग्न थालेको छ। 

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा सम्बन्धित वडादेखि नगरपालिकामा उम्मेदवारी दिने तरखर गर्दै आएकाहरूले आफ्नो पक्षमा मतदाता बढाउन उमेर पुगेकालाई खोजी–खोजी जिल्ला प्रशासन कार्यालय ल्याउन थालेका छन्।

उनिहरू नागरिकता तयार भएपछि जिल्ला प्रशासनसँगै जोडिएको निर्वाचन कार्यालयमा पुगेर मतदाता परिचयपत्र बनाउन फोटो खिचाएर घर फर्कने गरेका छन्।

कालिका नगरपालिका २५ वर्षीय पूर्ण चेपाङ समयमा नागरिकता बनाउन नसक्दा गएको निर्वाचनमा मतदान गर्नबाट बञ्चित भएका थिए। 

बुधबार बाबु, आमालाई पनि लिएर नागरिकता बनाउन आइपुगेका उनी मतदाता परिचयपत्रका लागि फोटो खिचाउने लाइनमा थिए। गाउँका अगुवाहरूले भोट हाल्न नागरिकता र मतदाता परिचयपत्र चाहिन्छ भनेर बुझाएपछि भरतपुर आइपुगेको उनले बताए। 

‘यसपालि भोट हाल्ने हो। गाउँको विकास गर्ने नेतालाई भोट हालेर जिताउनुपर्छ,’ उनले भने।

बुधबार साँझ ५ बज्दा पनि नागरिकता फाँटको भिड घटेको थिएन। कोही फाँटको झ्याल अघि उभिएका थिए, कोही पालो पर्खिएर बेञ्च र चौरमा बसेका थिए। 

‘दिनभर कुरियो तर आज पालो आउला जस्तो छैन,’ छोराको नागरिकता बनाउन आएकी भरतपुर–८ की मनकासी विकले भनिन्, ‘भोलि त बिहानै आएर नागरिकता र चुनावको कार्ड बनाएरै जानुपर्छ।’

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ नागरिकता फाँटको अगाडि पालो पर्खिरहेका सेवाग्राहीहरुलाई समन्वय गर्दै गरेका भेटिए। 

‘नागरिकता बनाउन आउनेको चाप अत्यधिक छ, उनीहरूलाई अप्ठेरो नपरोस् भनेर सेवाग्राहीको गुनासो आफैंले पनि सुन्ने गरेको छु,’ उनले भने, ‘सकेसम्म छिटो काम सकेर पठाउने गरेका छौं।’

उनले निर्वाचन आउन लाग्यो भनेर नागरिकता बनाउन, मतदाता परिचय पत्र बनाउन आउनु पनि सकरात्मक कुरा भएको बताए। ‘नेताहरुले कार्यकर्ता बोकेर आएका पनि छन्, कोही आफैं अग्रसर भएर आएका छन्। अन्य बेलामा भन्दा निकै चाप छ,’ उनले भने, ‘कर्मचारीले साना–साना कुरामा पनि अड्काएर सेवाग्राहीलाई फर्काउने गरेको गुनासो आउनेगरेकाले आफैं बसेर नियाल्ने गरेको छु।’

सहायक प्रजिअ शर्माका अनुसार दैनिक २ सय जनासम्मको नागरिकता जारी हुने गरेको बताए। 

नागरिकता बनाउन आउनेको चाप बढेपछि जिल्ला प्रशासन कार्यालयका कर्मचारीले साँझ ६ बजेसम्म काम गर्ने गरेका छन्। 

‘हाम्रा कर्मचारीले नपुगेर अन्य कार्यालयका कर्मचारीलाई काजमा बोलाएर पनि काममा लगाउनु परेको छ,’ उनले भने।

जिल्ला निर्वाचन कार्यालयमा मतदाता परिचयपत्र बनाउनेको लाइनले देश चुनावमा होमिन लागेको झल्को दिन्छ। कार्यालय परिसरमा नेकपा एमालेका युवा नेता सुदिप रेग्मी भेटिए। 

‘गाउँको अगुवा भएपछि स्थानीयले लौ न सहयोग गरिदिनुपर्‍यो भन्छन्, त्यति सहयोग त गर्नैपर्‍यो,’ उनले भने, ‘स्थानीय चुनाव नजिकिँदैछ, चुनावमा आफैं पनि उम्मेदवार बन्न सक्छु, आफू उम्मेदवार नभए पनि उम्मेदवार हुने पार्टीका साथीहरूलाई राम्रो होला। चुनावै नभए पनि गाउँलेले यसले सहयोग गरेको थियो भनेर सम्झिराख्छन्।’      

निर्वाचन कार्यालयले कार्यालय परिसरका अलावा, जिल्ला प्रशासन र विभिन्न स्थानीय तहहरूमा पनि फोटो खिचाउने व्यवस्था गरेको छ। 

‘केही दिनयता कार्यालयमा मात्रै दैनिक २ सय भन्दा बढी परिचयपत्र बनाउन आउने गरेका छन्,’ जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले भने, ‘स्थानीय तहहरूमा पनि कामको चाप बढेको छ।’  

स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूको कार्यकाल आगामी वैशाखमा सकिँदैछ। सरकारले औपचारिक रूपमा निर्वाचनको मिति घोषणा गरिनसके पनि स्थानीय नेतालाई भने चुनावी चटारोले छुन थालिसकेको छ।

Copy link
Powered by Social Snap