२०८० चैत्र १५

बार्बाडोस बन्यो कान्छो गणतान्त्रिक मुलुक, हटायो बेलायती महारानीलाई राष्ट्रप्रमुखबाट

क्यारेबियन टापु मुलुक बार्बाडोस संसारको कान्छो गणतान्त्रिक मुलुक बनेको छ।  

बिबिसीका अनुसार कुनैबेला बेलायतको उपनिवेश रहेको बार्बाडोसले अहिलेसम्म बेलायती महारानी एलिजावेथलाई राष्ट्रप्रमुख मान्दै आएको थियो।


Advertisement


गत अक्टोबरमा बार्बाडोसले ७२ वर्षीया डाम सान्द्रा मासोनलाई राष्ट्रपति निर्वाचित गरेको थियो।

बेलायतबाट स्वतन्त्र भएको ५५ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार राजधानी ब्रिजटाउनमा मासोनले राष्ट्रपतिको सपथ लिएसँगै बेलायती महारानी बार्बाडोसको राष्ट्रप्रमुखबाट हटेकी छन्।  

मासोनको सपथग्रहणमा बेलायती युवराज चार्ल्स सहभागी थिए। समारोहलाई सम्बोधन गर्दै उनले दुई देशबीचको इतिहासको कुरा गरे। संवैधानिक व्यवस्थामा परिवर्तन भए पनि आपसी बेलायत र बार्बाडोसबीचको सहकार्य जारी रहने बताए।

बार्बाडोसले गत वर्ष नै आफूले गणतान्त्रिक प्रणाली अपनाउने योजना सार्वजनिक गरेको थियो।

२ लाख ८५ हजार जनसंख्या भएको बार्बाडोस क्यारेबियन आइल्यान्डहरूमा सबैभन्दा जनसंख्या भएको समृद्ध मुलुक हो। बेलायती महारानीलाई राष्ट्रप्रमुखबाट हटाउने बार्बाडोस पहिलो क्यारेबियन टापु राष्ट्र भने होइन। यसअघि गुयाना, ट्रिनिडाड, टोबागोले महारानीलाई राष्ट्रप्रमुखबाट हटाएका थिए।

अहिले पनि क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवा न्यु गिनी, जमैकालगायत मुलुकले बेलायती महारानीलाई आफ्नो देशको राष्ट्रप्रमुख मान्ने गरेका छन्।  

Copy link
Powered by Social Snap