२०८१ बैशाख १४

१२ महिनापछि मैदान फर्किएका विक्रम भन्छन्- सारा पीडामा मलम लागेको छ

मिडफिल्डर विक्रम लामा १२ महिनापछि मैदान फर्किएका छन्। गत वर्षको नोभेम्बरमा बंगलादेशविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि विक्रम शनिबार पहिलो पटक मैदान उत्रिएका हुन्। 

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गतको खेलमा विक्रम थ्रीस्टार क्लबको जर्सीमा फेरि अर्को सिजन उत्रिए। सन् २०११ देखि थ्रीस्टारबाट व्यवसायिक खेल खेलिरहेका विक्रम अहिले कप्तानको भूमीका छन्।


Advertisement


यो सिजन थ्रीस्टारलाई उपाधि जिताउने लक्ष्यमा रहेका विक्रमका लागि पहिलो खेल सुखद् रह्यो। थ्रीस्टारले च्यासल युथ क्लबलाई ३-० ले हराउँदै उत्कृष्ट सुरुवात गर्न सफल भए।

थ्रीस्टारको जितसँगै विक्रमका लागि आफू मैदान फर्कन पाएकोमा खुसी लागेको छ।

‘फुटबलबाट टाढा रहन परेको पीडा घाइते भएका खेलाडीलाई मात्र थाहा हुन्छ। लामो समयपछि मैदान फर्कदा एकदमै खुसी लागेको छ। ‍पीडामा मलम लागेको छ। जे जस्तो भए पनि फेरि खेलमा फर्कन सकेँ भन्ने लाग्दा आत्मसन्तुष्टि प्राप्त भएको छ,’ उनले भने।

उनले पछिल्ला केही महिनादेखि मैदान फर्कन गरेको प्रयत्न सार्थक भएकोमा पनि खुसी व्यक्त गरे।

‘फुटबल खेल्न नपाएको पीडा  थियो,’ उनले भने, ‘मैदान फर्कन एकदमै धेरै रिह्याव गरेको थिएँ। त्यो सार्थक भयो, निकै खुसी छु।’

गत नोभेम्बरमा बंगलादेशविरुद्ध खेल्दा उनको दायाँ खुट्टामा समस्या देखिएको थियो। 

‘पहिला अप्रेसन गरिएकाले खेल्दा एकदमै अप्ठेरो हुन्थ्यो। खुट्टामा नटहरू थिए। खेल्दा त्यहाँ लाग्ने, कहिले हल्लिने भएकाले निकै दुख्थ्यो,’ उनले भने।

त्यसपछि अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतारमा उनको अप्रेसन गरिएको थियो। गत माघमा कतारको राजधानी दोहामा दायाँ खुट्टाको अप्रेसन गरेपछि उनी त्यहाँ पाँच महिना बसे। 

नेपाल फर्किएपछि उनले राष्ट्रिय फुटबल टिमसँगै मैदानमा सामान्य अभ्यास गर्ने गरेका थिए। 

‘नेपालमा ग्राउन्ड रिह्यावका लागि पर्याप्त मैदान छैन। त्यसैले राष्ट्रिय टिमसँग रहेर ग्राउन्ड रिह्याव गरेको हुँ,’ उनले भने।

२०७४ सालमा उनी गम्भीर घाइते भएका थिए। धरानमा भएको बुढासुबा गोल्डकपको फाइनल खेलमा नेपाल पुलिसविरुद्ध खेल्दा उनको दायाँ खुट्टा भाँच्चिएको थियो। लगत्तै उनको काठमाडौंमा उनको अप्रेसन गरिएको थियो।

अप्रेसन गरेको ९ महिनापछि उनी फेरि मैदान फर्कन सफल भएका थिए। तर गत वर्ष त्यहि चोट बल्झिदा उनी फेरि एक वर्ष मैदान बाहिर रहन पर्‍यो। 

सन् २०१३ मा राष्ट्रिय टिममा डेब्यू गरेका विक्रमले ३१ अन्तर्राष्ट्रिय क्याप जितेका छन्। सन् २०१९ मा नेपालमा भएको साग गेम्समा नेपालले फुटबलतर्फ स्वर्ण जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए। 

Copy link
Powered by Social Snap