२०८३ कार्तिक १२

कतारविरूद्धको टी-२० सिरिज ‘क्लिनस्विप’ गर्दै नेपालले रच्यो इतिहास

कतारविरूद्धको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपाली महिला टिमले ३-० ले क्लिनस्विप गरेको छ। बिहीबार भएको तेस्रो खेलमा कतारलाई १०९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिनस्विप गरेको हो।

यसअघि नेपालले लगातार दुई खेल जित्दै सिरिज कब्जा गरेको थियो। नेपाल पहिलो खेलमा ११९ रन र दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो।


Advertisement


पहिलो अन्तर्राष्ट्रिय टी-२० सिरिज जितेको नेपाली महिला टिमले पहिलो सिरिज क्लिनस्विप गर्दै अर्को इतिहास रचेको छ। 

बिहीबार दोहामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १६४ रन जोड्यो।

नेपालका लागि सीता रानामगरले नटआउट ८२ रन जोडिन्। नेपालका लागि टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएकी सीताले ७२ बलमा ७ चौका हिर्काइन्।

ओपनर काजल श्रेष्ठ ७ रनमा आउट हुँदा ज्योती पाण्डेले २४ रन र डोली भट्टले १२ रनको योगदान दिइन्। यस्तै सरिता मगरले ११ बलमा नटआउट १७ रन जोडिन्। 

१६५ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ७ विकेट गुमाएर ५५ रन  मात्र जोड्न सक्यो।

कतारका लागि अलीना खानले १९ रन र कप्तान आयसाले १३ रनको योगदान गरे। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा नेपालका सबनम राई, सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले १-१ विकेट लिए। कतारका चार ब्याटरलाई नेपालले रनआउटको सिकार बनाएको  थियो।

नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको हो। 

विश्वकप छनोट आगामी सोमबारदेखि यूएईमा सुरु हुँदैछ। छनोटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। छनोटबाट एक टिम विश्व छनोटमा पुग्नेछ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap