२०८१ बैशाख १४

सम्झौता थपेपछि नेपाल फर्किएका अलमुताइरीका यस्ता छन् तीन वर्षका योजना

साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्सबाटै कतार पुगेका थिए। कतार उड्नुअघि अलमुताइरीले अब नेपाल नफर्कने बताएका थिए। साथै उनले आफ्नो सम्झौता सकिएको भन्दै अन्तर्वार्ता दिएका थिए।

यद्यपी अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले अलमुताइरीसँग अझै एक वर्ष सम्झौता बाँकी रहेको सार्वजनिक गरेका थिए। यो बीचमा अलमुताइरीलाई भेट्न एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेका थिए। 


Advertisement


शेर्पा नेपाल फर्केपछि अलमुताइरीले आफ्नो फेसबुकमार्फत् नेपाली राष्ट्रिय टिमसँगको सम्झौता तीन वर्ष थप भएको सार्वजनिक गरेका थिए। यो विषयमा एन्फाले कुनै औपचारिक जानकारी भने गराएको थिएन।

फेसबुकमा नेपाली टिमसँगको सम्झौता तीन वर्ष थप भएको लेखेपछि उनी नेपाल फर्किए। नेपाल फर्किएर खेलकुद मन्त्री महेश्वरजंग गहतराजसँग छलफल पनि गरे।

मंगलबार एन्फाले अलमुताइरीको भावी योजनाको विषयमा पत्रकार सम्मेलन आयोजना गर्‍यो। पत्रकारसम्मेलमार्फत एन्फाका केन्द्रीय सदस्य तथा नेपाली टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले अमुताइरीसँग सन् २०२४ को अन्त्यसम्मका लागि सम्झौता भएको बताए। तर अलमुताइरीको तलब र सम्झौताको विषयमा पूरा जानकारी भने नभएको उपाध्यायको भनाइ थियो।

अलमुताइरीले भने नेपाली राष्ट्रिय टिमसँगको सम्झौताको विषयमा खुलाए। उनले आफ्नो तलब कतार फुटबल एसोसिएसनले दिने बताए। पहिलाको भन्दा अहिले तलब बढेको अलमुताइरीको भनाइ छ। तर तलब रकम भने खुलाउन चाहेनन्। तलब बाहेक खाने-बस्ने र अन्य सुविधा एन्फाले उपलब्ध गराउने छ।

साफ फाइनल अन्तिम खेल भएको बताए पनि नेपाल फेरि फर्कनुको कारणबारे सोध्दा उनले नेपाली फ्यान, खेलाडी र एन्फाका स्टाफका कारण फर्किएको बताए। उनले आफूले नेपाली फुटबलको विकासका लागि आफू काम गर्न तयार रहेको पनि बताए।

तीन वर्षका लागि नेपाली फुटबल टिम हाँक्ने जिम्मा पाएका अलमुताइरीले तीन वर्षका लागि योजना बनाइसकेका छन्। 

जसमा पहिलो वर्षको विस्तृत योजना सार्वजनिक गरे। यही महिनाको अन्तिमदेखि सुरू हुने सहिद स्मारक ए डिभिजन लिगपछि नेपाली टिमको बन्द प्रशिक्षण सुरु गर्ने उनको योजना छ। योजनाअनुसार काम भए जनावरीदेखि नेपाली टिमको प्रशिक्षण सुरू हुनेछ। प्रशिक्षणमा २६ देखि २८ खेलाडी बोलाइनेछ।

आगामी फेब्रुअरीमा एएफसी एसियन कप २०२३ को तेस्रो चरणको ड्र हुनेछ। यो ड्र अघि नेपालको वरीयता सुधार गर्न काम गर्नु पर्ने उनको भनाइ छ। त्यसका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाउने उनको योजना छ। अहिलेको अवस्थामा नेपाल पोट-४ मा छ। ड्र अघि फिफा वरीयता सुधार गरेर पोट ३ मा आउने उनको योजना छ। यसो भए नेपालका लागि छनोट यात्रा सहज हुने उनको भनाइ छ।

प्रत्येक चरणमा तीन साता प्रशिक्षण गराउने गरी योजना बनाएका छन् भने फिफा डेमा बढी भन्दा बढी अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाउन प्रयास गरिने अलमुताइरीको भनाइ छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले एसियन कपको तेस्रो चरणको छनोट आगामी जुनमा गर्ने भनेको छ। यही समयमा एएफसी यू२३ एसियन कप हुने भएकाले तेस्रो चरणको छनोट सर्ने सम्भावना छ। यसो भएमा छनोट सेप्टेम्बरमा हुनेछ।

सेप्टेम्बरमा हुने छनोटमा एक समूहमा चार टिम हुनेछन्। नेपाल भन्दा बलिया टिमसँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले समूहमा तेस्रो हुने लक्ष्य रहेको अलमुताइरीले बताए। उनले नेपाल यसपटकको एसियन कपमा छनोट हुने सम्भावना नरहेको पनि स्पष्ट पारे। 

साफको फाइनल पुग्ने, एसियन कपको तेस्रो चरणमा पुग्ने  र नेपाली टिमको खेल्ने शैली परिवर्तन गर्ने आफ्नो योजनामा सफल भएको बताएका अलमुताइरी आगामी लक्ष्यमा पनि सफल हुने दाबी गरे।

अर्को वर्षको नोभेम्बरमा फिफा विश्वकप हुने भएकाले त्यतिबेला मैत्रीपूर्ण खेल सम्भव नहुने उनको भनाइ छ।

सन् २०२३ मा विश्वकपको छनोट र २०२४ मा एसियन कपको छनोट हुनेछ। सन् २०२३ मा विश्वकप छनोट र २०२४ मा एसियन कप छनोटमा उत्कृष्ट खेल देखाउने आफ्नो रणनीति हुने उनको भनाइ छ। सन् २०२३ र २०२४ को विस्तृत योजना पछि सार्वजनिक गर्न उनको भनाइ छ।

अलमुताइरीको योजना 

Copy link
Powered by Social Snap