२०८३ कार्तिक १२

राजनीति छाड्न सक्छु, खेल शरीरले सकुन्जेल खेल्छु- कमल थापा

राजनीतिको दौडधूपले दैनिक जीवन व्यस्त बनाए पनि कमल थापा खेलकुद भनेपछि मरिहत्ते गर्छन्। खेलकुदसँगको उनको नाता राजनीतिभन्दा पुरानो र गहिरो हो। परिस्थितिले राजनीतिमा प्रवेश गरेका थापा पुराना राष्ट्रिय फुटबल खेलाडी हुन्। 

उनी नेपाली राष्ट्रिय टिमको खेल हेर्न समय छुट्याउँछन्। उमेर ६७ वर्ष लागिसक्यो, अझै केही खेलका प्रतिस्पर्धामा उत्रिन्छन्। प्रतियोगितामा भाग लिन देश-विदेश पुग्छन्।

थापा यो साता टेनिस कोर्टमा उत्रिए। वीर गणेशमान गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको ५५ वर्षमाथि स्पर्धामा भाग लिएका थापाले सिंगल्सतर्फ फाइनलसम्मको यात्रा तय गरे। 


Advertisement


उक्त प्रतियोगितामा ६५ वर्षमाथिको स्पर्धा पनि थियो। उनले भने आफ्ना लागि ५५ वर्षमाथिको रोजे। फाइनलमा आफूभन्दा झन्डै दस वर्ष कान्छा विमलकुमार गुरुङसँग रोमाञ्चक खेल देखाए। 

पहिलो सेटमा थापाले विमललाई कडा टक्कर दिए। खेल दौरान खुट्टामा समस्या आएपछि सोचेजस्तो खेल्न भने सकेनन्। पहिलो सेट ६-४ ले गुमाएका उनले दोस्रो सेट ६-३ ले हारे।

यो स्पर्धाको डबल्समा भने थापा र छम्ब धोन्दूपको जोडीले उपाधि जित्यो। थापा र धोन्दूप जोडीले कृष्णराज घले र सुवर्ण धाख्वालाई फाइनलमा हराएको थियो।

उमेर बढ्दै गए पनि थापाको जोश घटेको छैन। खानपिनमा अनुशासित उनी दैनिक व्यायाम गर्छन्। यसपटकको प्रतियोगिताका लागि उनले राम्रो तयारी गर्न पाएका थिएनन्। अझ घाइते भएकाले शतप्रतिशत खेल्न सकेनन्। 

दुई वर्षअघिसम्म उनी दैनिक डेढ-दुई घन्टा टेनिस खेल्थे। अहिले समय दिन सकिरहेका छैनन्। 

‘कोभिडका कारण टेनिस खेल्न अवरुद्ध भएको छ। अहिले हप्ताको एक-दुई दिनभन्दा समय दिन सकेको छैन,’ उनले भने।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा राजनीतिलाई जति नै समय खेलकुदलाई छुट्याउँछन्।

‘खेलकुद र राजनीति दुवैको समय मिलाउन गाह्रो छ। हाम्रो पार्टीको एकता महाधिवेशन मंसिर ११, १२ र १३ गते हुँदैछ। त्यसको तयारीमा एकदमै व्यस्त छु। व्यस्तताका बावजुद, अहिले शारीरिक रूपमा फिट नभए पनि भाग लिएको हुँ।’

उनले थपे, ‘समय मिलाउने कुरा प्राथमिकतामा भर पर्छ। सबैका लागि समय २४ घन्टा हो। जुन कुरालाई तपाईंले प्राथमिकता दिनुहुन्छ, त्यहीअनुसार समय समायोजन गर्नुपर्छ। मैले खेलकुद र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छु।’

थापाले खेलकुदलाई प्राथमिकतामा राख्नुको कारण यसप्रतिको लगाव नै हो। उनी बाल्यकालदेखि नै खेलकुदमा सक्रिय छन्। उनी स्कुल र कलेजमा हुने जति प्रतियोगितामा भाग लिन्थे। युवा अवस्थामा फुटबलमा केन्द्रित भए। त्यति बेला उनले नेपालको राष्ट्रिय टिमबाट समेत ‍खेले।

लामो समय संकटा क्लबबाट खेल्दा उनले सहिद स्मारक ए डिभिजन लिग र त्रिभुवन शिल्डको उपाधि जित्ने अवसर पाए। नारायणी अञ्चलबाट खेल्दा राष्ट्रिय प्रतियोगिता पनि जिते।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष भएर दस वर्ष काम पनि गरे।

खासमा थापा सेनामा भर्ती हुन चाहन्थे। तर त्यो बेला तीन महिना उमेर नपुग्दा खेलकुदसँगै विद्यार्थी राजनीतिमा लागे। राजनीतिप्रतिको झुकाव र व्यस्तताका कारण फुटबल खेल्न छाडिदिए। 

अनि केही समय स्क्वास खेले। सन् १९९८ मा परराष्ट्रमन्त्री भएदेखि टेनिस खेल्न थालेका हुन्। अमेरिका, भारत लगायत केही राजदूत टेनिस खेल्थे। उनीहरूले प्रोत्साहन गरेकाले आफू पनि खेल्न थालेको थापा बताउँछन्।

अधवैंशे उमेरमा टेनिस खेल्न थालेका थापा प्रतियोगितामा सहभागी हुन थाले। नेपालमा हुने ३५ वर्ष, ४५ वर्ष उमेर समूहमा पटक-पटक उपाधि जिते। खेलकुद पृष्ठभूमिबाट राजनीतिमा आउँदा फाइदा पुगेको थापाको अनुभव छ। आफ्नो चरित्र र व्यक्तित्व विकासमा खेलकुदले योगदान दिएको उनी बताउँछन्।

‘मेरो व्यक्तित्वमा जे-जस्ता विशेषता देखिएको छ, त्यसमा खेलकुदको ठूलो योगदान छ,’ उनले भने, ‘हार पनि सहज रूपमा स्वीकार गर्न सक्ने, हारेपछि, लडेपछि फेरि उठेर जित्न प्रयास गर्ने कुरा खेलकुदले सिकाउँछ। अनुशासित र इमानदारी सिकाउँछ। यी गुण मेरो राजनीतिक जीवनमा काम लागेका छन्।’

राजनीति र खेलकुद जीवनको उत्तरार्द्धमा आइपुगेका थापाले दुवै क्षेत्रबाट संन्यास लिनेबारे सोचेका छन् त?

उनी भन्छन्, ‘खेलकुदभन्दा पनि राजनीतिबाट निश्चित उमेरपछि विश्राम लिनुपर्छ भन्ने लाग्छ। राजनीतिमा नयाँ पिँढीलाई मौका दिनुपर्छ। यसबारे सचेत छु। उपयुक्त समयमा राजनीतिबाट संन्यास लिन्छु। कहिले र कतिबेला उपयुक्त भन्ने समयले बताउँछ।’

कमजोर राप्रपालाई कांग्रेस र कम्युनिस्टपछिको शक्ति बनाएर पार्टी छाड्न चाहन्छन् उनी। यो महाधिवेशनमा संन्यास सम्भव नदेखेका उनी अहिलेको अवस्थामा सक्रिय राजनीति छोड्दा उपयुक्त नहुने बताउँछन्। पार्टीलाई उच्च स्थानमा पुर्‍याएर मात्र विश्राम लिन चाहने उनले अर्को महाधिवेशनसम्म सोच्न सक्ने बताए।

खेलकुदबाट टाढा हुने विषय भने उनले सोचेकै छैनन्। शरीरले साथ दिएसम्म उनी खेल्न चाहन्छन्। खेलमै रमाउन चाहन्छन्। 

राजनीति र खेलकुदमध्ये रोज्नु पर्दा पनि खेलकुद नै रोज्छन्।

‘राजनीतिमा म परिस्थितिले आएको हुँ, रूचिले होइन। मेरो चरित्रलाई राजनीति सुहाउँदैन,’ उनले भने, ‘यो भनाइ कतिपयलाई बनावटी लाग्न सक्छ किनकी मैले राजनीतिमै चार दशक बिताइसकेँ। मेरो बाहिर देखिने र भित्र देखिने व्यक्तित्व फरक छ। मेरो प्राथमिकता र रूचि खेलकुद हो।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap