२०८१ बैशाख १५

९६ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारी भन्छन्- न्यायालयमा हुने मोलमोलाइका नाइके चोलेन्द्रशमसेर

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी। 

९६ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी न्यायालयमा हुने भ्रष्टाचार र अनियमिततालाई लिएर चिन्तित छन्।

न्यायाधीश नियुक्ति र न्यायालयमा हुने भ्रष्टाचार र चलखेलविरूद्ध आवाज उठाइरहने भण्डारी उमेर र अनुभवका हिसाबले सबभन्दा पुराना वकिल हुन्।


Advertisement


जिन्दगीका झन्डै सात दशक वकालतमा बिताएका यी वरिष्ठ वकिल अहिलेजस्तो अवस्था यसअघि न्यायालयमा कहिल्यै नदेखेको बताउँछन्। उनका अनुसार न्यायालयमा अहिलेजति राजनीतिक दबाब, बिचौलियाको प्रभाव यसअघि कहिल्यै थिएन।

उनीसँग गरेको कुराकानी जस्ताको तस्तै:

यस्तो त न्यायालयमा कहिल्यै भएको थिएन। पञ्चायत कालमा पनि न्यायालय लगभग स्वतन्त्र थियो। कहिलेकाहीँ कुनै कुनै मुद्दामा दरबारका कर्मचारीले दबाब दिने गरेको मलाई थाहा छ। यो मुद्दा जिताइदेऊ, यो हराइदेऊ भन्ने गर्थे। तर त्यति बेला पनि राजनीतिक हस्तक्षेप अहिलेजस्तो थिएन।

मुख्य कार्यकारी मानिएका राजाले पनि कहिल्यै अदालतमा हस्तक्षेप गरेको, न्यायालय यस्तो र उस्तो हुनुपर्‍यो भनेको मलाई थाहा छैन। त्यति बेलाका न्यायाधीश र हामी वकिलहरू एक थियौं। हामीले न्याय हुन्छ भनेर ठोकुवा दिन्थ्यौं। कानुनको मर्यादा थियो। अहिले त न्यायालयमा राजनीतिक दबाब छ।

मैले भन्ने गरेको छु, हरिप्रसाद प्रधानदेखि विश्वनाथ उपाध्यायसम्मका प्रधानन्यायाधीशहरू उच्च कोटीका थिए। उहाँहरूमाथि कुनै दाग लगाउन सक्नुहुन्नथ्यो।

हुन त विश्वनाथजीकै पालामा न्यायाधीश भर्तीमा राजनीतिकरण भयो। त्यसपछि नै न्यायालयमा राजनीतिक भर्ती र राजनीतिकरण सुरू भयो। अहिले त न्यायिक जगत भद्रगोल छ। हामी वकिलहरू भिडिरहेका छौं। हामी एकजुट छौं र न्यायालय सुधारको बाटोमा लागिरहेका छौं।

न्यायालय सुधारको बाटोमा अवरोध गर्ने अहिलेका प्रधानन्यायाधीश नै हुन्। त्यसैले उनले राजीनामा गर्नुपर्छ। नभए न्यायालयमा भद्रगोल चलिरहन्छ।

अहिले न्यायाधीशहरू पनि इजलास नबसी विद्रोह गरिरहनुभएको छ। उहाँहरू त्यसो गर्न बाध्य हुनुहुन्छ भन्ने मलाई लाग्छ। यसो गर्न बाध्य बनाएको प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले नै हो। उनले सम्झिएका छन् कि छैनन्, उनी आफैंले गोपाल पराजुलीको इजलास बहिष्कार गरेका थिए।

राजनीतिक नियुक्तिदेखि राजनीतिक दबाब र मोलमोलाइ न्यायालयमा प्रशस्त छ। त्यसका नाइके वा मूलव्यक्ति प्रधानन्यायाधीश चोलेन्द्रशमसेर नै हुन्। राजनीति गर्नेहरूले पनि न्यायालय बिगारेका छन् तर प्रधानन्यायाधीश त अडिग हुनुपर्थ्यो नि। उनी पनि बडो अवसरवादी र स्वार्थी मान्छे हुन्। आफ्नो पद जोगाउन जे पनि गर्छन्। उनलाई न्यायमा भरोसा छैन। न्याय दिनुपर्छ भन्ने पनि लाग्दैन। त्यसैले हामी शुद्धिकरण अभियानमा लागेका हौं।

हाम्रो संविधानमा जनता भनेको सार्वभौमसम्पन्न हो। आज जनताको आवाज प्रधानन्यायाधीशले राजीनामा गर भन्ने छ। उनी सडकबाट दबाब आउँदैमा राजीनामा दिन्न भन्छन्। तर जनताको आवाज भनेको सार्वभौमसत्ताको आवाज हो।

जनतालाई अन्याय परे अदालतभन्दा पहिले वकिलकहाँ आउँछन्। न्याय पाइन्छ कि पाइन्न भनेर उनीहरूलाई वकिलले भन्ने हो। त्यसैले न्यायालयको दोस्रो पांग्रा भनेका वकिलहरू हुन्। न्यायालय गुड्न त पहिलो पाङ्ग्रा राम्रो हुनुपर्‍यो नि भन्ने हाम्रो माग हो।

चोलेन्द्रशमसेरको अवधि, उनको स्वामित्व र विचारको न्यायालय राम्रो भएन। त्यसैले उनले छाड्नुपर्छ। अहिले हामी संयमित तरिकाले उनको राजीनामा मागिरहेका छौं। यसलाई उनले कमजोरी नठानून्। राजीनामा नदिए हामी कडा रूपमा आन्दोलन गर्छौं।

हामी न्यायालय सुधारको अभियानमा छौं। जबसम्म चोलेन्द्रशमसेर प्रधानन्यायाधीश रहन्छन्, न्यायालयमा शुद्धीकरण हुँदैन। उनी बडो खटपटवाला मान्छे छन्। राजनीतिक दलसँग मिलेका छन्, दलाल र बिचौलियाहरूसँग मिलेका छन्।

Copy link
Powered by Social Snap