२०८१ बैशाख ११

विश्वकपमा पाकिस्तानले अर्को खेल जितिसक्यो, भारतमा हारको तरंग कायमै!

आइतबारको खेलपछि पाकिस्तानका खेलाडीलाई बधाई दिँदै भारतीय कप्तान विराट कोहली।

युएईमा जारी आइसिसी टी-२० पुरुष विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। मंगलबार भएको खेलमा पाकिस्तानले न्युजिल्यान्डलाई ५ विकेटले हराएको हो।

यसअघि आइतबार भएको यसपालिको विश्वकपको पहिलो खेलमा पाकिस्तानले चीर प्रतिद्वन्द्वी भारतसँग १० विकेटको रवाफिलो जित निकालेको थियो।


Advertisement


राजनीतिक रूपमा कटुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीच यसअघि विश्वकपमा भएका सबै १२ खेलमा भारत हावी भएको थियो। विश्वकपमा पहिलो पटक पाकिस्तानसँग पराजित भएको भारतमा अहिलेसम्म पनि त्यसको तरंग बाँकी छ।

भारतीय कप्तान विराट कोहलीले खेल सकिनासाथ पाकिस्तानी खेलाडीलाई अँगालो हालेर बधाई दिँदै खेल भावना देखाएका थिए। खेलमा हारजित भएपछि त्यो कुरा त्यहीँ सकिनु पर्ने हो। तर सोही खेलका कारण भारतमा अहिले कसैको जागिर गएको छ भने केहीविरूद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ। भारतीय क्रिकेट टिमका खेलाडी मोहम्मद सामीलाई सामाजिक सञ्जालमा ट्रोल बनाउने क्रम पनि जारी छ।

बिबिसी हिन्दीका अनुसार राजस्थान राज्यमा पाकिस्तानको जितमा खुसी मनाउने एक शिक्षिकालाई जागिरबाट निकालिएको छ भने उनीविरुद्ध प्रहरीमा मुद्दा हालिएको छ।

निर्जा मोदी स्कुलले शिक्षिका नसिफा अटारीले ह्वाट्स एपमा पाकिस्तानी खेलाडीको तस्बिर राखेर हामीले जित्यौं लेखेकी थिइन्। उक्त स्टाटस देखेका एक अभिभावकले उनलाई ‘तपाईं पाकिस्तानी टिमलाई समर्थन गर्नुहुन्छ’ भनेर म्यासेजमा सोधेका थिए। उनले ‘हो’ भनेर उत्तर फर्काएकी थिइन्।

उक्त मेसेजको स्क्रिनसट स्थानीय टेलिभिजनमा देखाइएपछि विद्यालय व्यवस्थापनले नसिफालाई जागिरबाट हटाउने निर्णय गरेको हो।

त्यस्तै  जोधपुरमा पाकिस्तानले जित्दा खुसी मनाउने दुई  युवकलाई प्रहरीले गिरफ्तार गरेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।

सामाजिक सञ्जालहरूमा पाकिस्तानको जितमा खुसीयाली मनाउँदा पञ्जाबमा केही कस्मिरी विद्यार्थीमाथि कुटपिट भएका तस्बिरहरू पनि सार्वजनिक भएका छन्।

Copy link
Powered by Social Snap