२०८१ बैशाख १५

टि-ट्वान्टी विश्वकपमा आज अफगानिस्तान र स्कटल्याण्ड भिड्ने

युएईमा जारी सातौं संस्करणको टी-ट्वान्टी विश्वकपको अन्तर्गत सोमबार समूह ‘२’ का अफगानिस्तान र स्कटल्याण्ड प्रतिस्पर्धा गर्दैछन्। 

खेल शारजाहस्थित शारजाह क्रिकेट स्टेडियममा राति ७:४५ बजेबाट सुरू हुने छ।

समूह चरणमा अपराजित रहेको स्कटल्याण्डले सुपर १२ मा पनि त्यहीँ लय समात्ने कोशिशमा हुनेछ। उसले तीनवटै खेलमा जित दर्ता गर्ने क्रममा बंगलादेशलाई ६ रनले, पपुवा न्युगिनीलाई १७ रनले तथा ओमानलाई ८ विकेटले पराजित गरेको थियो। 


Advertisement


स्कटल्याण्डका रिची बेरिंगटन, म्याथु क्रस तथा बलिङमा पेसर जोश डेभि राम्रो लयमा छन्। 

स्कटल्याण्डको जितको लय अफगानिस्तान विरूद्ध कायम गर्न सहज भने हुनेछैन। 

यस पटक अफगानी टिमका लागि उत्कृष्ट प्रदर्शन गर्नुपर्ने मुख्य चुनौती छ। पछिल्लो केही महिनायता मुलुक आन्तरिक राजनीतिमा अल्झिएको छ। गत अगष्टमा अफगानिस्तानमाथि तालिबानले कब्जा गरेसँगै मुलुकको स्थिति थप बिग्रिएको छ। त्यसैले अफगानिस्तानी टिमलाई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशबासीमा केही भए पनि खुसी फर्काउने कोशिश गर्नुपर्नेछ।

देशको पछिल्लो राजनीतिक अवस्थाले पर्याप्त अभ्यास नपाइरहेको अवस्थामा विश्वकप टोली घोषणा गर्ने बेलामै विवाद भएको थियो। टिम घोषणा लगत्तै असन्तुष्ट जनाउँदै रासिद खानले कप्तान छोडेका थिए। अन्तिम समयमा केही परिवर्तन गर्दै अनुभवी अलराउन्डर मोहम्मद नाबीलाई दोस्रो पटक टिमको नेतृत्व गर्ने मौका दिइयो।

अफगानिस्तानले विश्वकप अघि दुई वटा अभ्यास खेल खेलेको थियो जसले दक्षिण अफ्रिका बिरुद्ध हार बेहोरे पनि दोस्रो अभ्यास खेलमा वेस्टइन्डिजलाई ५६ रनले हराएको थियो। 

अफगानिस्तानका माथिल्लो क्रमका ब्याट्सम्यानहरु हज्रतुल्लाह जजाई र मोहम्मद शाहजाद तथा रहमनुल्लाह गुर्बज लयमा छन्। बलिङतर्फ उत्कृस्ट लयमा रहेका स्पिनर मोहम्मद नाबी, रासिद खान र मुजिब उर् रहमान जस्ता स्पिनरहरु स्कटल्याण्डको ब्याटिङ तहसनहस पार्ने क्षमता राख्नछन्। कप्तान मोहम्मद नाबी ब्याटिङमा समेत राम्रो गर्न सक्छन्।

हेड टु हेड:
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट इतिहास हेर्ने हो भने अफगानिस्तान र स्कटल्याण्डबीच भएका सबै ६ खेलमा अफगानिस्तान विजयी भएको छ। विश्वकपमा भएको एक मात्र भेटमा ( सन् २०१६ ) अफगानिस्तान १४ रनले विजयी भएको थियो। २०१६ पछि दुई टिम पहिलो पटक आमनेसामने हुँदैछन्।

अफगानिस्तानको सम्भावित-११ : 
हज्रतुल्लाह जजाई, मोहम्मद शाहजाद, रहमनुल्लाह गुर्बज, नजिवउद्दिन जर्धान, अस्घर अफगान,मोहम्मद नाबी, करिम जनत, गुलवदीन नैब, रासिद खान, मुजिब उर रहमान र नवीन उलहक ।

स्कटल्याण्डको सम्भावित-११ : 
जर्ज मुन्सी, काइल कोएत्जर, म्याथ्यूँ क्रस, रिचि बेरिङ्टन, कालुम म्याकलियोड, माइकेल लिस्क, क्रिस ग्रिभ्स, मार्कवाट, जोश डेभी,साफयान शरिफ र ब्राड व्हील।

Copy link
Powered by Social Snap