२०८१ बैशाख १४

हामीले चाहे सरकार एक हप्तामै ढाल्न सक्छौं: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले चाहे सरकार एक हप्ताभित्रै ढाल्न सक्ने बताएका छन्। तर आफूहरूको लक्ष्य तत्काल सरकार ढाल्ने नरहेको उनले स्पष्ट पारे। 


Advertisement


बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले भने, ‘अहिले पनि यो सरकार ढाल्दिऊँ भन्ने हो भने धेरै त नभनौं, एक हप्ताभित्र यो सरकार जान्छ। एमालेले ढाल्दिऊँ भन्ने हो भने। यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं। लोभीपापीहरू छन्, दिए भइगो नि! ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र! दिए सिद्धिने कुरा छ त्यहाँ। अरूले भन्दा हामी दिन सक्छौं नि!  प्रचण्ड मिलाउन देख्नु भएन ४० प्रतिशत ल, ढ्याक्कै। हामी त त्यो गर्न सक्छौं नि। अरूले त्यो गर्न सक्छ ? कांग्रेसले माधवलाई चालिस प्रतिशत देओस् त ? प्रचण्डलाई देओस् त ४० प्रतिशत। सक्दैन। तर हाम्रो अभिष्ट चाहिँ सरकार बनाउने होइन। हामी देश बनाउनका लागि जित्ने कुरा गरिराखेका छौं। हामी सरकार बनाउने कुरा गरिराखेका छौं भन्दा देश बनाउनका लागि। देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउँछौं।’

अध्यक्ष ओलीले देश बनाउने निश्चित भएपछि मात्रै आफ्नो पार्टी सरकारमा जाने बताए। उनले देश बनाउने कुरा र सरकार बनाउने कुरा फरक भएको उल्लेख गर्दै देश बनाउनका लागि आफूहरूले निर्वाचनमा आफ्नो पार्टीलाई विजयी बनाउन चाहेको बताए।      

Copy link
Powered by Social Snap