२०८० चैत्र १६

स्वदेश फर्किएपछि कप्तान किरणले भने- यो टिमले भविष्यमा राम्रो नतिजा दिन सक्छ

साफ च्याम्पियनसिप २०२१ खेलेर नेपाली राष्ट्रिय फुटबल टिम सोमबार स्वदेश फर्किएको छ। माल्दिभ्समा भएको साफमा नेपाली टिम उपविजेता बनेको थियो। 

गत शनिबार भएको फाइनलमा भारतसँग ३-० गोलले पराजित हुँदा नेपाल उपविजेतामा सीमित हुनु परेको थियो।

स्वदेश फर्किएपछि नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले नेपाली टिमको प्रदर्शनमा सन्तुष्टि  प्रकट गरे। 

‘पहिलो खेलदेखि नै फरक फरक खेलाडीले गोल गरे। फरवार्डले नै स्कोर गर्नु पर्छ भन्ने होइन। जसले पनि गोल गर्न सक्ने सम्भावना देखिएको छ,’ उनले भने।


Advertisement


‘खेलाडीहरूले व्यक्तिगत क्षमता देखाएका छन्। टिम राम्रो हुँदा पनि फाइनल खेलको दोस्रो हाफको पाँच मिनेटले गर्दा हामीले खेल हार्न पुग्यौं। अन्जन विष्ट फाइनलमा नहुँदा मिस भएको थियो। उसलाई पनि फाइनल खेल्ने इच्छा थियो। प्रशिक्षक अलमुइरी र अन्जन नहुँदा पनि मैले टिमलाई सक्दो उत्साह दिने कोशिस गरेको थिएँ। हामीले केही गल्ति गर्‍यौं। यसलाई भविष्यमा सुधार गर्नु पर्छ।’

अहिलेको टिम राम्रो भएको बताउँदै किरणले भविष्यमा राम्रो नतिजा ल्याउन सक्ने अपेक्षा व्यक्त गरे। 
 
‘यो टिमबाट भविष्यमा नतिजा दिन सक्छौ जस्तो लाग्छ। किनकी टिममा युवा तथा अनुभवी खेलाडीको समिश्रण छ,’ उनको भनाइ छ। 

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो। तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुक्यो। 

नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको थियो। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको थियो।

साफको उपाधि भिडन्तमा पराजित भएसँगै नेपालले भारतविरुद्ध लगातार नौं खेलसम्म जित निकाल्न सकेन। 

नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो।

त्यसयता भारतविरुद्ध खेलेका ९ मध्ये नेपाल ७ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्। 

Copy link
Powered by Social Snap