२०८० चैत्र १६

राजनीतिक षड्यन्त्रको रूपमा राम भगवानलाई दुःख दिन खोजियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  चितवनको माडीमा राजनीतिक षड्यन्त्रको रुपमा राम भगवानलाई दु:ख दिन खोजिएको बताएका छन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भानु जयन्तीको अवसरमा भगवान रामको जन्मभूमि भारत नभई माडीको अयोध्यापुरी भएको दाबी गर्दै त्यहाँ अयोध्याधाम निर्माण गर्ने घोषणा गरेका थिए।

त्यही घोषणाअनुसार अयोध्याधाम निर्माणका लागि प्रधानमन्त्रीले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार गरेर माडी पठाएका थिए। कोरोना महामारीका बाबजुत भव्य कार्यक्रम आयोजना गरी माडीमा ती मूर्ति प्रतिस्थापन गरिएको थियो।


Advertisement


शनिबार गृहजिल्ला चितवन आइपुगेका अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै राम मन्दिर बनाउने भनेर आफूमाथि राजनीतिक षड्यन्त्र गर्न खोजिएको आशय व्यक्त गरे।

‘राम मन्दिर बनाउने कुरा, त्यसको ऐतिहासिकता प्रमाणित गर्ने कुरा, आधिकारिकता दिने कुरा सरकारले पहिले गर्नु पर्दथ्यो तर त्यसो नगरी सरकारले सस्तो लोकप्रियता, प्रचारका निम्ति मात्रै गर्‍यो,’ अध्यक्ष प्रचण्डले भने, ‘तर एउटा राजनीतिक षड्यन्त्रको रुपमा राम भगवानलाई दुःख दिन हुँदैन भन्ने मलाई लाग्छ।’

उनले नेपालमा भगवान रामको गरिमा कायम रहन दिनुपर्ने बताए।

माओवादी केन्द्र र नेकपा एमाले एक भएर नेकपा बनेपछि प्रचण्डसमेत अध्यक्ष रहेका बखत ओलीले प्रचण्डकै निर्वाचन क्षेत्रमा अयोध्याधाम बनाउने योजना सार्वजनिक गरेका थिए।

ओलीको घोषणापछि माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि आवश्यक जमिन सिफारिस गरको थियो। त्यसपछि प्रचण्डले समेत उक्त क्षेत्रको अवलोकन गरेका थिए। त्यतिखेर पत्रकारहरूसँग प्रचण्डले माडीमा अयोध्याधाम बने आफ्नो लागि सबैभन्दा खुसीको कुरा हुने बताएका थिए।

प्रधानमन्त्री ओली सरकारबाट बाहिरिएसँगै राममन्दिरको विषय ओझेल परेको छ। तामझामका साथ तयार पारिएको मन्दिर अचेल सुनसान छ। अयोध्याधाम निर्माणका लागि छुट्टाइएको क्षेत्र व्यवस्थापन नहुँदा कुरुप देखिन थालेको छ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले चितवनको पूर्वाधार विकास आफ्नो प्राथमिकतामा रहेको पनि बताए।

उनले ठूला परियोजना, तटबन्ध, रिङरोड, सिटीहल, औद्योगिक क्षेत्र विकाससँगै चितवनले विकास प्रक्रियामा गुणात्मक फड्को मार्ने दबी गरे। उनले भरतपुर विमानस्थलको विस्तारको काम पनि पुनः अघि बढ्ने बताए। 

‘बालदको विषयमा टिप्पणी गर्नै चाहन्नँ’

हाल नेकपा एमालेका नेता रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले केही दिन अघि भरतपुरमा पत्रकारहरूसँग चितवनमा आगामि निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुनसक्ने बताएका थिए।

अध्यक्ष प्रचण्डले यस विषयमा कुनै टिप्पणी नगर्ने बताए। ‘नेपाली जनता र चितवनका जनतालाई यथार्थ के हो थाहा छ, म त्यस्तो तल्लो स्तरको विषयमा टिप्पणी गर्नै चाहन्न,’ उनले भने, ‘चुनाव लड्न सबैलाई आफ्नो स्वतन्त्रता छ म टिप्पणी गर्नै चाहन्नँ।’

उनले चितवनमा आगामी निर्वाचनमा पनि गठबन्धन एकजुट हुने दाबी गरे।

‘गठबन्धन नगरी लड्ने स्वतन्त्रता सबैलाई छ, तर जुन अवस्थामा गठबन्धन भयो, त्यसलाई विचार गर्दा पनि चितवनमा गठबन्धन एक भएरै जान्छ,’ उनले भने।

Copy link
Powered by Social Snap