२०८३ कार्तिक १२

एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव

सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरूले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन्।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा शीर्ष नेताहरूले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका हुन्। 


Advertisement


बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संसद सहजरूपमा सुचारु गर्नका लागि नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउने निष्कर्ष निकालेको बताए। 

अध्यक्ष ठाकुरले आजको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि निष्कर्षविहीन भएको बताए।
अध्यक्ष ठाकुरले भने, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निष्कर्षविहीन भएको छ, सभामुखजीले म प्रयास गर्दै थिएँ, फेरि पनि म प्रयास गरिरहन्छु भन्नुभएको छ।’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरू नआएकोले बैठक निष्कर्षविहीन भएको बताइन्। उनले सबै समस्याको समाधान संवादबाटै हुने भएकोले एमाले संवादमा आउनुपर्ने र सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न नमिल्ने बताइन्।

उपाध्यक्ष पौडेलले भनिन्, ‘प्रतिपक्षको लिडरहरू नै नआइदिनुभएको हुनाले वास्तविक निष्कर्षमा पुग्न सकिँदैन भन्ने कुरा एउटा निष्कर्ष त्यो थियो, प्रतिपक्षलाई फेरि पनि संवादबाट नै हरेक अप्ठ्याराहरूलाई निर्णयमा पुर्याउन सकिन्छ, त्यसको लागि प्रतिपक्षलाई बोलाएर फेरि सर्वदलीय बैठक बोलाउनका निम्ति अनुरोध गरियो, हटलाइनबाटै सभामुखले फोन गर्दा पनि मोबाइल अफ भएर आउन नसक्ने जानकारी आयो र कानून मन्त्रीजीले पनि के स्पष्ट गराउनुभयो भने पूर्वसभामुख मान्य सुवास नेम्वाङजीले भन्नुभयो रे अध्यक्ष जीले आजको बेठकमा उपस्थित नहुने कुरा भन्नुभयो, संवादबाटै निष्कर्षमा पुग्ने हो, यसअघि पनि संसद अवरूद्ध भइरहेको हो, सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न मिल्दैन, त्यसैले प्रतिपक्ष दल संवादमा आएर सदनलाई अनिर्णयको बन्दीबाट बाहिर ल्याउनुपर्छ।’

उनले बैठकमा सभामुख सापकोटालाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरिएको बताइन्। 

माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै संसद अवरूद्ध गर्दै आएको छ। 

भदौ २३, २५ र २७ गतेको संसदमा विरोध गर्दै नाराजुलुस लगाएपछि सभामुख सापकोटाले भदौ २८ गते सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थित थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap