२०८१ बैशाख २२

देशभर प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सम्पन्न

नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यबाट निर्वाचन कार्यालयमा सनाखत भएको छ ।


Advertisement


निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यले  नेकपा एमाले र जसपा नेपालबाट छुट्टिई गठन भएको नयाँ दलमा प्रवेश गर्न चाहना राख्नेलाई नयाँ दल गठन भएको मितिले २१ दिनभित्र सनाखत गर्न निर्वाचन आयोगले निर्देशन दिएको थियो ।

प्रदेशसभाका सदस्यलाई सम्बन्धित प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई सनाखत गर्ने गराउने व्यवस्था गरिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन) बमोजिम आयोगले नेकपा एमाले र जसपाबाट छुट्टिई बनेका नयाँ दलमा प्रवेश गर्न चाहने जनप्रतिनिधिलाई सनाखतको व्यवस्था गरेको हो ।

तोकिएको समयावधिभित्र ती दुवै नयाँ दलमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत गर्ने कार्य भएको सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । जनप्रतिनिधिबाट सनाखत भएको विवरणसहितको प्रमाणित प्रतिवेदन सबै जिल्लाबाट आएपछि आयोगको बैठकबाट त्यस सम्बन्धमा निर्णय हुने उनले बताए । 

जिल्ला जिल्लाबाट प्रतिवेदन आउन पाँच÷छ दिनसम्म लाग्न सक्ने आयोगले अनुमान गरेको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap