२०८१ बैशाख १५

रोमान्चक खेलमा बंगलादेशले न्युजिल्यान्डलाई हरायो, शृंखलामा २-० को अग्रता

न्युजिल्यान्डलाई ४ रनले हराउँदै बंगलादेशले पाँच खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिजमा २-० को अग्रता लिएको छ।

शेरे बांग्ला नेसनल स्टेडियम ढाकामा भएको खेलमा बंगलादेशले दिएको १४२ रनको लक्ष्य पछ्याएको

पाहुना टोली न्यूजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो।


Advertisement


उसका लागि कप्तान टम लाथमले अविजित ६७ रन बनाउँदा विल योंगले २२ तथा ल म्याककोन्चीले १५ रन बनाए। यस्तै राचिन रविन्द्रले १० रन बनाउँदा बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

अन्तिम २ ओभरमा जितको लागि न्युजिल्यान्डलाई २८ रन आवस्यक रहँदा मोहम्मद सैफुद्दीनले १९ औं ओभरमा मात्र ८ रन खर्चिए।

त्यसपछि अन्तिम ओभरमा २० रन आवस्यक रह्यो। अन्तिम ओभरमा मुस्तफिजुर रहमानले पहिलो ४ बलमा ७ रन मात्र खर्चिए पछि अन्तिम २ बलमा जित्न १३ रन आवस्यक रह्यो। सो अवस्थामा मुस्तफिजुरले पाँचौ बलमा नो बल गरे जसमा लाथमले चौका प्रहार गरे। त्यसपछि फ्री हिट बलमा लाथमले २ रन लिए। अन्तिम बलमा जित्न छक्का आवश्यक हुँदा लाथमले १ रन मात्र लिन सकेपछि बंगलादेशले रोमाञ्चक जित निकाल्यो।

बंगलादेशका लागि मेहदी हसन र शाकिब अल हसनले समान २-२ विकेट तथा नसुम एहमदले १ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। उसको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक ३९ रन, कप्तान महमुदुल्लाहले अविजित ३७ रन, लिटन दासले ३३ रन, नुरुल हसनले १३ तथा शाकिब अल हसनले १२ रन योगदान दिए।

न्युजिल्यान्डका लागि देब्रे हाते स्पिनर रचिन रभिन्द्रले सर्वाधिक ३ विकेट लिए। एजाज पटेल, कोल म्याकोन्चि र हमिश बेनेटले समान १-१ विकेट हात पारे।

सिरिज अन्तर्गत पहिलो खेल बंगलादेशले ७ विकेटले जितेको थियो। सिरिजको तेस्रो खेल भोलि हुनेछ।

Copy link
Powered by Social Snap