२०८१ बैशाख २२

नेपाल र भारतबीचको खेलअघि के भन्छन् दुवै टिमका प्रशिक्षक र कप्तान?

नेपाल र भारतबीच भोलि बिहीबार र आइतबार गरी दुई वटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदैछ। 

दशरथ रंगशालामा हुने दुवै खेल साँझ साढे पाँच बजेदेखि सुरु हुनेछ। 

खेलमा सरकारले ५१ सय दर्शकलाई मैदानमा राख्ने पाउने अनुमति दिएको छ। 


Advertisement


अनलाइनबाट टिकट काटेर मैदानमा खेल हेर्न आउने दर्शकले भ्याक्सिन कार्ड ल्याउनु पर्नेछ र कार्ड नभए पिसिआर रिपोर्ट ल्याउनु पर्नेछ। 

खेलअघि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जितका लागि खेल्ने बताएका छन्। 

भारतसँगको खेल कठिन हुने नेपालका कप्तान किरणकुमार लिम्बूको भनाइ छ।

भारतीय टिमका प्रशिक्षक इगोर स्टिमाक नेपालसँगको खेललाई लिएर उत्साहित छन्। भारतीय टिमका कप्तान सुनील क्षेत्रीले नेपालसँग खेल्न सधैं कठिन हुने प्रतिक्रिया दिएका छन्। 

खेलअघि उनीहरूले दिएको प्रतिक्रिया यस्तो छ :-

अब्दुल्लाह अलमुताइरी (प्रशिक्षक- नेपाल)

दुई महिनादेखि तयारी गरिरहेका छौं। सुरुमा काठमाडौंमा अभ्यास गर्‍यौं। त्यसपछि पोखरा गर्‍यौं।

भारतीय टिमको विषयमा अध्ययन गरेका छौं। 

हाम्रो लक्ष्य साफ च्याम्पिनसिप हो। 

अहिले दुई मैत्रीपूर्ण खेल खेल्दैछौं। यी खेलबाट साफका लागि शिक्षा लिनेछौं। हामी कस्तो स्तरमा पुग्‍यौं भन्ने थाहा पाउनेछौं। भविष्यमा के गर्न सकिन्छ भन्ने सोच्नेछौं। साफअघि कमजोरी पत्ता लगाउनेछौं। 

हामी सबै अन्तर्राष्ट्रिय खेलका लागि तयार हुनुपर्छ, जित्नु पर्छ। हामी भारतसँगको खेलका लागि पनि तयार छौं। खेलपछि फ्यानहरू गर्व महसुस गर्छन् भन्ने लाग्छ।

व्यक्तिगत रूपमा नेपालको रंगशालामा पहिलो खेल र भारतसँग पहिलो खेलका लागि उत्साहित छु। 

एसिया र विश्वलाई रियल गोर्खाली भन्ने देखाउँन चाहान्छौं। हामी बराबरीका लागि खेल्दैनौं र जितका लागि खेल्छौं। 

मानिसहरूलाई खुसी दिलाउन होइन गर्व गर्नका लागि खेल्नेछौं। मानिसहरूलाई आफ्नो राष्ट्रिय टिमप्रति गर्व गर्ने गरी खेल्नेछौं। 

यो खेल दुवै टिमका लागि कठिन खेल हो। 

किरणकुमार लिम्बु (कप्तान-नेपाल)

टिम राम्रो अवस्थामा छ। खेलले हाम्रो आगामी प्रतियोगिता लागि सहयोग पुग्छ भन्ने लाग्छ। 

एक महिनापछि हुने साफ च्याम्पियनसिपका लागि यो अवसर हो। हामी कति बलियो छौं भन्ने भारतसँगको खेलले देखाउनेछ। 

हाम्रो लागि खेल कठिन नै छ। भारतसँग खेललाई कहिल्यै सजिलो लिएको छैन। हामी घरेलु मैदान खेल्दा खुसी छौं। 

पहिला भन्दा मानसिक रुपमा बलियो भएका छौं। 

इगोर स्टिमाक (प्रशिक्षक-भारत)
खेलका लागि खेलाडी फिट र तयार छन् भन्ने आसा छ। अनि भारी वर्षा हुँदैन भन्ने पनि आसा छ। 

हामी राम्रो फुटबल खेल्नेछौं। हामीसँग एटीके मोहन बगान र बेंगलुरु एफसीका केही खेलाडी छैनन्। उनीहरु एएफसी कपका खेल खेलिरहेका छन्। त्यसैले हाम्रा लागि कठिन हुनेछ।

मैले टिममा रहेका खेलाडीबाट आसा गरेको छु। उनीहरूले आफ्नो पोजिसनका लागि फाइट गर्नेछन्। 

नेपालको बारेमा विश्लेषण गरेका छौं। नेपालले विश्वकप छनोटमा राम्रो खेलेको थियो। युवा खेलाडीलाई मौका दिइएको छ। 

सुनील क्षेत्री (कप्तान- भारत)
उत्कृष्ट खेल्नेछौं। महत्वपूर्ण खेलहरु आउँदैछन्। यो मैत्रीपूर्ण खेल सिजनको राम्रो सुरूवात हो। 

नेपाल बलियो प्रतिद्वन्द्वी हो। परिस्थिति जस्तो भए पनि नेपालविरुद्ध खेल्न कठिन हुन्छ। 

भारतविरुद्ध खेल्न नेपाली टिमले सबै शक्ति खर्च गर्छ। पछिल्लो समय नेपालमा भएको  खेल गोलरहित बराबरीमा सकिएको थियो। 

हामीले यो वर्ष एएफसी कपमा त्रिभुवन आर्मी क्लबसँग खेलेका थियौं। आर्मीका खेलाडी पनि नेपालको राष्ट्रिय टिममा छन्। एएफसी कपको खेल प्रतिस्पर्धात्मक थियो। पहिलो हाफमा गोल भएको थिएन। खेल ५०-५० थियो। 

यसबाट पनि नेपालविरुद्ध खेल्न सजिलो छैन भन्ने देखिन्छ। यस्तै खेल नेपाल र भारतबीचको पनि हुन्छ भन्ने लाग्छ।

Copy link
Powered by Social Snap