२०८१ जेष्ठ ७

फेरि विभाजनको बाटोतिर विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर !

 विवेकशील साझा पार्टीमा फेरि विवाद बढेको छ । खासगरी पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच बढेको विवादले पार्टी पुनः विभाजनको संघारमा धकेलिएको छ । 

 अध्यक्ष मिश्रले केही पहिले सार्वजनिक गरेको दस्तावेज पछि दुई पक्षबीच चलेको विवादका कारण बैठक समेत अलग–अलग आह्वान गरिएको छ ।


Advertisement


अध्यक्ष मिश्रले मंगलबार आगामी भदौ १७ गते बिहीबार साढे १२ बजे केन्द्रीय समितिको बैठक बोलाएलगत्तै संयोजक पाण्डेले पनि सोही दिन ११ बजेलाई समानान्तर बैठक बोलाएका छन् ।

‘अध्यक्षले सहमतिका आधारमा बैठक बोलाउने प्रयास गर्नुभएको थियो तर सहमति नभएपछि पार्टीलाई डेडलकबाट बचाउन बिहीबारलाई बैठक बोलाउनुभएको हो’, अध्यक्ष मिश्र पक्षीय विवेकशील साझा पार्टीका सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियारले रातोपाटीसँग भने, ‘केन्द्रीय सदस्यहरुले बैठकको माग गरिरहेपछि पार्टी डेडलकको अवस्थामा लामो समय राख्नुभएन ।’

नेता परियारले पार्टीभित्र सैद्धान्तिक व्यवहारिक विवाद रहेको स्वीकार्दै त्यो विवाद सम्बोधन गर्ने प्रयास अध्यक्ष मिश्रले गरेको दावी गरे । ‘पार्टीभित्र सैद्धान्तिक, व्यवहारिक विवाद रहेको सत्य हो । त्यो विवाद सम्बोधन गर्न सकिन्छ कि भनेर नै अध्यक्षले बैठक आह्वान गर्नुभएको हो । तर पाण्डेजीहरु सहमतिमा पनि आउनुभएन र यता बैठक बोलाएपछि काउन्टर टुल्सका रुपमा प्रयोग गरेर अर्को बैठक आह्वान गर्नुभयो’, परियारको भनाइ छ ।

तर, अध्यक्षले एकतर्फी रूपमा बैठक बोलाएको संयोजक पाण्डे पक्षको दावी छ ।

यसले अध्यक्ष र संयोजकले फरक–फरक बैठक बोलाएपछि पार्टीका केन्द्रीय सदस्यहरु समेत अलमलमा परेका छन् । पाण्डे पक्षले भने अध्यक्षले दुई पार्टी एकीकरण गर्दा भएको सम्झौता विपरित बैठक बोलाइएको भन्दै त्यसलाई आफूहरूले काउन्टर दिनुपरेको बताएको छ ।

‘विधानमा एकताको महाधिवेशन नहुँदासम्म अध्यक्ष र महासचिवले संयुक्तरूपमा बैठक बोलाउने यदि त्यसो संयोजकले बोलाउने भनिएको छ’ पाण्डे पक्षका नेता केशव दाहालले भने, ‘तर, उहाँले एकतर्फीरूपमा बैठक बोलाएपछि समस्या आयो ।’

यद्यपी दाहालले आफुहरुले पार्टीमा अध्यक्ष र संयोजकका फरक फरक दस्तावेज आएपछि यो विषयलाई थाती राखेर निकास खोज्न आफुहरुले सुझाव दिदै आएको बताए ।

‘पार्टीमा दुईवटा दस्तावेज आए । दस्तावेजमा फरक फरक विषय छन् जो विपरित पनि छन् । जसले पार्टी ध्रुवीकृत हुन पुग्यो’, दाहालले रातोपाटीसँग भने, ‘अहिले नै यो विचारको विषय भएकाले बहुमत र अल्पमतबाट छिनोफानो नगरौँ भनेको उहाँले म अघि बढिसके भन्नुभयो ।’

केही साता पहिलो अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्षबारे जनमत संग्रह गनुपर्ने प्रस्ताव अघि सारेका थिए । त्यसपछि संयोजक पाण्डेले मिश्रलाई काउन्टर दिदै मिश्रको उक्त दस्तावेज पार्टीको नभएर मिश्रको व्यक्तिगत भन्दै काउन्टरमा अर्को दस्तावेज सार्वजनिक गरेका थिए । त्यसयता विवेकशील साझामा विवाद चर्किँदै गएको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap