२०८१ जेष्ठ ५

आगामी निर्वाचन जित्ने गरी महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिन्छ: प्रवक्ता शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबाट पार्टीमा नयाँ ऊर्जा प्राप्त हुने र त्यसले आगामी निर्वाचन जित्न थप सहयोग पुग्ने बताएका छन्।


Advertisement


मंसिरमा हुने महाधिवेशनबाट निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने पनि उनले बताए।

झापाको दमक नगर समितिको कार्यालयमा शनिबार अगुवा कार्यकर्ता भेटघाटमा प्रवक्ता शर्माले पार्टी महाधिवेशनमा होमिइसकेको बताए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशको प्राथमिकता नबुझेकोले सरकारबाट बाहिरिनुपरेको शर्माको भनाइ थियो।

कांग्रेसलाई जनताले ५ वर्ष प्रतिपक्षमा बस्न भने पनि सरकार चलाउनुपर्नेले नचलाएपछि देश चलाउने जिम्मेवारी कांग्रेसमा आइपुगेको उनको भनाइ थियो।

‘कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो तर पनि देश चलाउनुपर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो,’ शर्माले भने।

ओली नेतृत्वको सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको दाबी गर्दै शर्माले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भने स्थिरताका लागि अध्यादेश ल्याएको बताए।  

‘वर्तमान सरकारले मुलुकको स्थिरताका लागि अध्यादेश ल्याएको छ यो बाध्यता हो,’ शर्माले भने।

Copy link
Powered by Social Snap