२०८१ जेष्ठ ७

बढ्न थाले मौसमी फ्लुका बिरामी, कोरोना हो कि मौसमी फ्लु भनेर कसरी थाहा पाउने?

नेपालमा अहिले गर्मी सिजन सकिएर बिस्तारै हिउँद सुरू हुँदै गर्दा मौसमी फ्लुका बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले पछिल्लो साता मौसमी फ्लुका बिरामी बढ्न थालेको बताए। 


Advertisement


‘अब सिजन परिवर्तन हुँदै गर्दा मौसमी ज्वरो र रुघाखोकीका बिरामी पनि बढ्न थालेका छन्। काठमाडौंभन्दा पनि बाहिरका जिल्लामा झन् धेरै बिरामी देखिएको भन्ने सुनेको छु,’ उनले भने। 

डा. पुनका अनुसार मौसमी फ्लुले समात्दा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने र खोकी लाग्ने गर्छ। त्यसैले यस्ता लक्षण देखिनसाथ मौसमी फ्लु भएको भनेर सम्झिनुपर्ने उनको भनाइ छ। 

तर यी लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकालाई धेरैलाई मौसमी फ्लु र कोरोना भएको छुट्याउन गाह्रो पर्ने डा. पुन बताउँछन्।

उनले अस्पतालमा पनि धेरै मानिसहरू सो लक्षणहरू लिएर कोरोना भएको हो कि भन्ने आशंकाले आउने गरेको तर पछि जाँच गर्दा मौसमी फ्लु हुने गरेको उनी सुनाउँछन्। 

मौसमी फ्लु हो कि कोरोना हो भनेर कसरी छुट्याउने?

डा. पुनका अनुसार धेरै मानिसहरूलाई मौसमी फ्लु हो कि कोरोना हो भनेर छुट्याउन गाह्रो पर्छ। कसैले ज्वरो आउनुबित्तिकै उनीहरू कोरोना नै भयो भनेर आत्तिने गरेको उनले सुनाए। तर पुनले मौसमी फ्लु र कोरोना छुट्याउनलाई केही सुझाव दिएका छन्। 

उनका अनुसार ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्नेसँगै स्वाद र गन्ध पनि हराएको छ भने त्यो बेलामा कोरोना भएको हुनसक्छ। त्यस्तो हुनसाथ नजिकैको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग परामर्श गर्ने र परीक्षण गराउन उनको सुझाव छ। तर स्वाद र गन्ध हराएको छैन भने त्यो बढी मौसमी फ्लु हुनसक्ने र पछि थप समस्या आएमात्र चिकित्सकसँग परामर्श गर्नुपर्ने पुन सुझाउँछन्।

 

साथै रूघा लाग्दा वा हाछ्यूँ गर्दा नाकबाट सिँगान वा पानी बगिरहन्छ भने, त्यो कोरोनाको लक्षण नहुने उनी बताउँछन्। तर सुख्खा खोकी लागिरह्यो भने चाहिँ त्यो कोरोना हुनसक्ने भन्दै त्यो बेला सचेत हुनुपर्ने उनको भनाइ छ।

साथसाथै सास फेर्न गाह्रो हुन थाल्यो भने तुरून्तै चिकित्सककहाँ जानुपर्ने पुनले सुझाउँछन्। किनभने मौसमी फ्लु हुँदा सास छोटो छोटो हुने वा सासै फेर्न मुस्किल नहुने उनी बताउँछन्। त्यसैले कुनै पनि व्यक्तिले मौसमी फ्लु हो कि कोरोना हो भनेर छुट्याउन यी कुरा ख्याल गर्नुपर्ने उनको भनाइ छ। 

मौसमी फ्लूबाट कसरी जोगिने? 

डा. पुनका अनुसार मौसमी फ्लुबाट जोगिन कोरोनाकै जस्तो साबुन-पानीले बेलाबेला हात धुने, हाछ्यूँ गर्दा कुइनाले छोप्ने र भौतिक दूरी कायम गर्नुपर्ने हुन्छ।

यदि मौसमी फ्लु भएमा सो व्यक्तिले आफूलाई अरूबाट अलग गरेर घरमै दुई चार दिन आराम गर्ने र औषधि लिने र त्यो गर्दा पनि गाह्रो भएमा मात्र अस्पताल जानुपर्ने डा. पुनको सुझाव छ। 

त्यसबाहेक मौसमी फ्लु सिजन परिवर्तन हुने बेलामा देखिने हुँदा सो बेला बढी सतर्क हुनुपर्ने पुन सुझाउँछन्। साथै, फ्लुले बढी बालबालिकामा असर गर्ने भन्दै ती समूहलाई बढी हेरचाह गर्नुपर्ने उनी बताउँछन्।

Copy link
Powered by Social Snap