२०८१ जेष्ठ ४

गण्डकीका एक मन्त्रीलाई ३१ करोड ऋण, कसको सम्पत्ति कति?

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइटमार्फत् उनीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषदमा ११ जना सदस्य रहे पनि युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) र कृषि मन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्।

मन्त्रिपरिषद गठन भएको २ महिनापछि मुख्यमन्त्रीसहित मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। भ्रष्टाचार निवारणसम्बन्धी ऐनले सार्वजनिक पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार राष्ट्रिय सतर्ककता केन्द्र सिँहदरबारलाई पठाएको सम्पत्ति विवरण मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक गरेका हुन्।


Advertisement


सार्वजनिक सम्पत्ति विवरणअनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग ५ तोला सुन छ। जुन उनको पैतृक सम्पत्ति हो। उनले नवलपुरको गैंडाकोटमा ०.३ रोपनी, ४ आना डेढ पैसा जग्गामा साढे २ तले पक्की घर छ। उक्त घर जग्गा पैतृक सम्पत्ति बेचेर खरिद गरेको उल्लेख गरेका छन्। पोखरेलको नाममा काठमाडौंमा १५ आना २ दाम जग्गा छ। उक्त जग्गा बैंकबाट ऋण लिएर १५ लाखमा खरिद गरेको उल्लेख छ। यस्तै, पोखरेलको नाममा तनहुँमा पनि जग्गा छ।

मुख्यमन्त्री पोखरेलको एभरेष्ट बैंकमा तलब भत्ताको ५ लाख रुपैयाँ नगद मौज्दात छ। कृषि विकास बैंकबाट उनले २०७६ मा २५ लाख ऋण लिएका छन्।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काको पोखरा-१६ मा ३८२ वर्गमिटर क्षेत्रफलमा घर छ। उक्त घरजग्गालाई खड्काले पैतृक सम्पत्ति र स्वआर्जन भनेका छन्। उनका श्रीमती कमला खड्काको नाममा पोखरा-३३ मा २२२ वर्गमिटर जग्गा छ। उक्त जग्गा माइतबाट प्राप्त जग्गा साटफेरबाट आएको उल्लेख गरेका छन्।

यस्तै खड्काले ९५ तोला सुन पैतृक रहेको बताएका छन्। तलब भत्ताबापत् एभरेष्ट बैंकमा २० लाख ३३ हजार नगद मौज्दात, अमरदीप सहकारीमा ६५ लाख र अन्य बैंकहरूमा १५ लाख नगद मौज्दात रहेको उल्लेख गरेका छन्। उक्त रकम जमिन बेचेर प्राप्त लाभांश र छोराले विदेशबाट पठाएको उल्लेख गरेका छन्।

सरकारका प्रवक्ता समेत रहेका खड्काले अमरदीप सहकारीमा ५१ लाख ५० हजारको शेयर, जन्मभूमि एजुकेशन फाउन्डेसन प्रालिमा ५ लाखको शेयर रहेको उल्लेख गरेका छन्। उनले उज्जवल खड्कालाई ६० लाख र हरिबहादुर थापालाई २५ लाख ऋण दिएको उल्लेख गरेका छन्।

श्रीमती कमला खड्काको नाममा ४२ लाख मूल्यको गाडीसमेत रहेको मन्त्री खड्काले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार सबैभन्दा धनी कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा देखिएका छन्। पोखराका घरजग्गा, अटोमोबाइल, रिसोर्टलगायत व्यवसायीसमेत रहेका थापाको नियुक्ति विवादमा परेको थियो। तनहुँका डोबाटे विश्वकर्मालाई मन्त्री बन्न बोलाएर अन्तिम अवस्थामा मुख्यमन्त्री पोखरेलले डोबाटेका ठाउँमा थापालाई मन्त्री नियुक्त गरेका थिए।

मन्त्री थापाको पोखरा-८ नयाँबजारमा ३ हजार ९११ वर्गमिटर क्षेत्रफलमा घर छ। आम्दानीको स्रोतमा ऋण र सापट भनेका छन्। यस्तै, वडा नं. ९ मा ४ हजार ९९४ वर्गमिटर क्षेत्रफलमा उनको अर्को घर छ। यस्तै, सिटी ट्रेड मल, लेकसाइडस्थित पोखरा बुटिक होटल पनि रहेको छ। उनले आम्दानीको स्रोतमा पैतृक सम्पत्ति भनेका छन्।

यस्तै, लेकसाइडस्थित बगैंचा रिसोर्ट, सिटी ट्रेड मल, गण्डकी ट्रेड मल, अंशुभरा स्क्युवार प्रालि, हिमालयन रिसोर्ट पनि उनले सम्पत्ति विवरणमा देखाएका छन्।

मन्त्री थापाले यी सम्पत्ति आफ्नो, २ श्रीमतीहरू राधा थापा क्षेत्री र मनलक्ष्मी थापाका नाममा छुट्टाछुट्टै राखेका छन्। उनले परिवारमा ९० तोला सुन, ५० तोला चाँदी र १५ तोला हिरा रहेको उल्लेख गरेका छन्। पैतृक सम्पत्ति र व्यवसायबाट उक्त सुन, चाँदी र हिरा आर्जन गरेको उनको सम्पत्ति विवरणमा उल्लेख छ।

मन्त्री थापाले विभिन्न १० वटा बैंक तथा वित्तीय संस्थामा गरी १० करोड नगद मौज्दात रहेको र ७ लाख ५० हजार कित्ता शेयर रहेको बताएका छन्। उनले पोखराका विभिन्न ठाउँमा झन्डै १०० कित्ता जग्गा आफू, दुई श्रीमतीलगायत परिवारको नाममा रहेको विवरण बुझाएका छन्।

सम्पत्ति विवरणमा मन्त्री थापाले ५ वटा बैंकबाट ३१ करोड ३ लाख ७० हजार ऋण लिएको उल्लेख गरेका छन्। उनले माछापुच्छ्रे बैंकबाट ११ करोड ७३ लाख ५३ हजार, एनएमबी बैंकबाट १० करोड ३५ लाख २१ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ५ करोड २९ लाख ६५ हजार, नविल बैंकबाट ४० लाख १३ हजार र सानिमा बैंकबाट ३ करोड २५ लाख १७ हजार रुपैयाँ ऋण लिएका छन्।

गण्डकीका अर्थमन्त्री रामजी बराल जीवनले पोखरा-२२ मा १ रोपनी ४ आना २ दाम जग्गामा पैतृक सम्पत्तिका रूपमा घर रहेको उल्लेख गरेका छन्। यस्तै, पैतृक सम्पत्ति र विदेशमा रहेका छोराले पठाएको पैसाले पोखरामै जग्गा खरिद गरेका छन्। जग्गा आफ्नो र श्रीमती बुद्धिमाया बरालको नाममा छ।

मन्त्री बरालसँग तलब भत्ताबापत् ३ लाख नगद मौज्दात छ। चार तोला सुन छ। विभिन्न कम्पनीका नाममा ४० कित्ता शेयर र निफ्राको ६० कित्ता शेयर रहेको पनि मन्त्री बरालले उल्लेख गरेका छन्। उनले एनआइसी एसिया बैंकबाट १ करोड ऋण लिएका छन्। सम्पत्ति विवरणमा मन्त्री बरालले ६० हजार रुपैयाँको गाईसमेत रहेको उल्लेख गरेका छन्।

उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशहरण आचार्यले बुझाएको सम्पत्ति विवरणमा बुबा पुष्पराज आचार्यको नाममा गोरखाको पालुङटार-२ मा पैतृक सम्पत्तिमा रूपमा घरजग्गा छ। उनले श्रीमती गंगा सुनारको नाममा पालुङटारमै ३० लाख रुपैयाँमा जग्गा खरिद गरेका छन्। उक्त रकम आमुल फर्निचर उद्योगको कमाइबाट प्राप्त भएको विवरणमा उल्लेख गरेका छन्।

मन्त्री आचार्यले परिवारमा रहेको ८ तोला सुन र ५ तोला चाँदी पनि सोही फर्निचर उद्योगबाट खरिद गरेको बताएका छन्। उनीसँग मन्त्रीका रूपमा तलब भत्ताबापत् आएको ५० हजार रुपैयाँ नगद मौज्दात रहेको उल्लेख गरेका छन्। मन्त्री आचार्यले कृषि विकास बैंकबाट ५० लाख ऋण लिएको र १० लाख तिरेका छन्। आमुल फर्निचर उद्योग चलाउन २०७४/०७५ मा २० लाख ऋण लिएको बताएका छन्।

पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ नगरपालिका २ मा ४८ लाख ५० हजारमा घर किनेका छन्। उनको जन्मगाउँ काठेखोला-८ लेखानी हो। उनले सम्पत्ति विवरणमा इन्द्रकली कँडेलको नाममा उक्त घर किनेको बताएका छन्। कँडेलको लेखानी, बागलुङकै नरेठाँटी, चितवन र रुपन्देहीमा जग्गा रहेको उल्लेख गरेका छन्।

सम्पत्ति विवरणमा कँडेलले आफूसँग २५ तोला सुन र अन्दाजी १ किलो चाँदी रहेको बताएका छन्। सुन र चाँदी विभिन्न समयमा खरिद गरेको, पुर्ख्यौली र दाइजोबाट प्राप्त भएको विवरणमा उल्लेख छ। मन्त्री कँडेलले आफ्नो नाममा ६ लाख र इन्द्रकली कँडेलको नाममा २ लाख नगद मौज्दात रहेको बताएका छन्। इन्द्रकलीको नाममा रहेको १ लाख ८८ हजार ४०९ रुपैयाँ दक्षिणालगायत नियमित संकलनबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ।

मन्त्री कँडेलको नाममा ८७ हजार कित्ता शेयर छ भने २ करोड ६७ लाख रुपैयाँ ऋण रहेको बताएका छन्।

गण्डकीका शिक्षा, विज्ञान तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको स्याङ्जामा र काठमाडौं नागार्जुनमा साढे २ तले पक्की घर छ। उक्त घर जग्गा पैतृक तथा व्यापारबाट आर्जन गरेको सम्पत्ति भएको श्रेष्ठले बताएका छन्। स्याङ्जामा आफ्नो नाममा र काठमाडौंका विभिन्न ठाउँमा अनिता श्रेष्ठको नाममा उनको जग्गा छ।

श्रेष्ठले पोखरामा पनि जग्गा खरिद गरेका छन्। अनिताको नाममा काठमाडौंमा रहेको जग्गा ३ करोड १७ लाखमा खरिद गरेको जनाएका छन्। श्रेष्ठसँग नगद १५ लाख रुपैयाँ छ भने सुन १ किलो १९ तोला, चाँदी ७ किलो २ तोला, हिराको औंठी १ थान रहेको छ। सुन, चाँदी र हिरा पैतृक सम्पत्ति तथा पेवा रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। श्रेष्ठसँग ४५ लाख रुपैयाँ पर्ने कार पनि छ।

मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा बैंक तथा वित्तीय संस्थामा ६ करोड ५२ लाख २३ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन्। जसमा ५ करोड ५० लाख अनिता श्रेष्ठको काठमाडौं, कीर्तिपुरको जग्गा बिक्रीबाट प्राप्त रकम भनेका छन्। अन्य रकम भने व्यापारिक प्रयोजनको रकम भनेका छन्।

श्रेष्ठको नाममा काठमाडौंस्थित क्यापिटल लिमिटेडको ५ लाख बराबरको शेयर, रक्षण सहकारीमा २ लाख र आधिखोला कोअपरेटिभ लिमिटेडमा १ लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन्। उनले सिटिजन्स बैंकबाट ७ करोड ९० लाख रुपैयाँ ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङको लमजुङको दूधपोखरी गाउँपालिकामा घर छ। उक्त घर जग्गा पैतृक सम्पत्ति भएको उनले उल्लेख गरेकी छिन्। चितवनको कविलासमा उनको २ वटा जग्गा छ। जुन शहिद परिवारले पाउने राहत रकमबाट खरिद गरेको उनले खुलाएकी छन्। एउटा जग्गा ५ लाख र अर्को साढे २ लाखमा किनेको उनले विवरणमा उल्लेख गरेकी छिन्।

यस्तै, मकवानपुरको हेटौंडामा पनि उनले जग्गा किनेकी छिन्। शहिद परिवारले पाउने राहत रकमबाट ३ लाख खर्चेर उक्त जग्गा किनेको उनले विवरणमा बताएकी छिन्। मन्त्री अधिकारीले आफूसँग ३ तोला सुन पैतृक सम्पत्तिका रूपमा रहेको उल्लेख गरेकी छिन्। उनको नगद मौज्दात प्रभु बैंकमा ३० हजार, सानिमा बैंकमा ६ लाख ५० हजार र एभरेष्ट बैंकमा १ लाख ८० हजार रहेको उल्लेख गरेकी छिन्।

वन, वातावरण तथा भू-संरक्षण मन्त्री दीपक थापाको स्याङ्जाको विरुवामा पैतृक सम्पत्तिका रूपमा घर जग्गा छ। उनले पोखरा-१४ मा ४० लाख रुपैयाँमा १७८ वर्गमिटर जग्गा किनेका छन्। उक्त जग्गा खरिद गर्न उनले मुक्तिनाथ विकास बैंकबाट ऋण लिएको उल्लेख गरेका छन्।

यस्तै, स्याङ्जाको विरुवामा ८ रोपनी जग्गा किनेका छन्। जुन आफ्नो तलब, भत्ता, आफन्तबाट सुन्तला बगैंचा स्थापना गर्न खरिद गरेको उल्लेख गरेका छन्। उनीसँग पैतृक सम्पत्तिका रूपमा ५० तोला सुन र २० तोला चाँदी छ। बैंक तथा वित्तीय संस्थामा १५ हजार रुपैयाँ नगद मौज्दात रहेको उनले उल्लेख गरेका छन्।

मन्त्री थापाले सहकारीबाट २० लाख ऋण लिएका छन्। उनीसँग २५ वटा बाख्रा, ७५० बोट सुन्तला र चर्ती नर्सरी उद्योग छ।

Copy link
Powered by Social Snap