२०८३ कार्तिक १२

वामदेवले भने- राष्ट्रिय सभा सांसद हुन तयार छु

साभार: सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभाका सांसद बन्न तयार रहेको निकटस्थहरूसँग बताएका छन्।

पार्टीले यसअघि गरेको निर्णय कार्यान्वयन हुन्छ की हुँदैन भन्ने पर्खाइमा आफू रहेकोसमेत उनले बताएका छन्।

‘उहाँले म राष्ट्रिय सभाका लागि तयार छु भन्नुभएको छ। राष्ट्रिय सभामा लाने हो भने पार्टीको निर्णयलाई सम्मान गर्न तयार छु समेत भन्नुभएको छ,’ गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले सेतोपाटीसँग भने,’दलीय व्यवस्थामा प्रधानमन्त्रीको विशेष अधिकार भन्ने हुँदैन। प्रधानमन्त्री र मन्त्रीहरू दलको अधिनस्थ हुने हो। प्रधानमन्त्री दलकै नेता हुन्छ। पार्टी निर्णय कार्यान्वयन हुनपर्छ म त्यसको लागि तयार छु भनेर उहाँले भन्नुभएको छ।’


Advertisement


गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो। तर सचिवालयको निर्णयलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन गरेका छैनन्। उनले अर्थमन्त्री युवराज खतिवडालाई फेरि राष्ट्रिय सभामा सिफारिस गर्न चाहेका छन्। दुई वर्षे कार्यकाल सकिएपछि खतिवडा अहिले बिना सांसद मन्त्री छन्। नेपालको संविधान अनुसार सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउँछ। खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ।

वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यको उमेदवार बनाउने अर्को निर्णय गरेको थियो।

प्रधानमन्त्री ओलीले वैशाख २० गतेको निर्णयले फागुन ६ गतेको निर्णयलाई खारेज गरेको अर्थमा लिएका छन्।

महामारीको यो समयमा प्रतिनिधि सभाको सदस्यका लागि निर्वाचन क्षेत्र खाली गराएर चुनाव हुन असम्भव रहेकोसमेत उपाध्यक्ष गौतमले आफु निकट नेताहरुसँग बताउने गरेका  छन्।

‘यो बेलामा चुनावमा जान सम्भव छैन,’ गौतमको भनाई उदृत गर्दै सुवेदीले भने,’मेरो प्राथमिकता राष्ट्रिय सभा हो। पार्टीको प्राथमिकताका आधारमा म जान तयार छु।’

प्रधानमन्त्री ओली भने पार्टीको निर्णय मान्न तयार नभएको र जसरी पनि अर्थमन्त्री खतिवडालाई सांसद बनाउने पक्षमा रहेको समेत गौतमले आफु निकटस्थहरूसँग भन्ने गरेका छन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap