२०८१ बैशाख २३

नेपालले ओमानमा खेल्ने ‘त्रिकोणात्मक’ सिरिजको मिति तय

नेपालले ओमानमा खेल्ने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक वानडे सिरिज आगामी भदौ २८ देखि असोज ४ (सेप्टेम्बर १३ देखि २०) सम्म हुने भएको छ।


Advertisement


टाइम्स अफ ओमानका अनुसार ओमान क्रिकेट बोर्डका मुख्य विकास अधिकारी दुलिप मेन्डिसले सिरिजको मितिबारे जानकारी गराएका हुन्।

नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनीसँग दुई म्याचको वानडे सिरिज खेल्ने जनाएको छ। यद्यपी यसको मिति  टुंगो भइसकेको छैन।

विश्वकप लिग–२ को पुरानो खेल तालिकाअनुसार नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज यो वर्ष मार्च १९ देखि २८ तारिखसम्म खेल्ने तालिका रहेको थियो। तर कोभिड–१९ का कारण यो वर्ष फेब्रुअरीमा सिरिज स्थगित गरिएको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व कप लिग–२ मा अन्तिमपटक गत वर्ष फेब्रुअरीमा ओमान र अमेरिकासँग नै घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा नेपालले अमेरिकालाई हराएको थियो भने ओमानसँग पराजित भएको थियो। त्यसपछि लिग–२ को खेलहरु कोरोनाका कारण बारम्बार सर्दै आइरहेका छन्।

पछिल्लो पटक स्पेनमा जुलाई २० तारिखदेखि निर्धारित नामिबिया र स्कटल्याण्डसँगको सिरिज कोरोना महामारीकै कारण रोकिएको थियो।

विश्वकप लिग–२ अंक तालिकामा नेपाल ४ खेलमा २ जित र २ हार पछि छैठौं स्थानमा रहेको छ। विश्वकप लिग–२ अन्तर्गत नेपालले अझै ३२ वटा खेल खेल्न बाँकी छ।

विश्वकप लिग–२ अंकतालिकाको शीर्ष–३ स्थानमा रहन सके नेपालले भारतमा आयोजना हुने २०२३ को एकदिवसीय विश्वकपको लागि छनोट प्रतियोगिता खेल्न पाउनेछ भने अर्को साइकलको लागि विश्वकप सुपर लिगमा समेत छनोट हुनेछ।

नेपालले यसका लागि १९ सदस्यीय टोली छानेर तयारी सुरू गरिसकेको छ।

नेपाली टिम : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

Copy link
Powered by Social Snap