२०८१ जेष्ठ ९

‘केपी सुध्रिन्छन् कि भन्ने थियो, अब त एकता भनेर लागेका साथीहरू पनि छ्याङ्ग हुनुभयो होला’

एमाले केन्द्रीय सदस्य एवम् सांसद विरोध खतिवडाले केपी ओलीले पार्टी एकताको बाटो बन्द गरेको आरोप लगाएका छन्।

कुराकानी गर्दै सांसद खतिवडाले अब आफूहरु देशभरिका कार्यकर्तालाई संगठित गरेर अघि बढ्ने बताए। पार्टी एकताका लागि लचिलो भइरहेको बेलामा ओली एक्लै अघि बढेकोले अब ओलीसँगको सहकार्यको सम्भावना सकिएको समेत उनले बताए।  

‘केपी सुध्रिन्छन् कि भन्ने थियो, अब सुध्रिने देखिएन, अब एकता गर्नुपर्छ भनेर लागेका हाम्रा साथीहरु पनि छ्याङ्ग हुनुभयो होला’ उनले भने, ‘एकताको पाटो ओलीबाट सकियो। केपी ओलीले एकै ठाउँमा रहने सम्भावना बन्द गरे।’


Advertisement


देशभरिका कार्यकर्तालाई संगठित गर्दै नेपालको संविधान, कानुन, दल सम्बन्धी  ऐन र निर्वाचन आयोगले खोजेको प्रक्रिया अनुसार संगठित रुपमा अघि बढ्ने उनको भनाइ छ।

आफूहरु पार्टी निर्माण गर्ने क्रममा लागेकोले सरकारमा जाने पहिलो प्राथमिकता नभएको समेत उनले स्पष्ट पारे।

‘हामी पार्टी बनाउने, निर्माण गर्ने काममा लागिरहेका छौँ। पार्टीको झगडाको नाममा संसद विघट गर्ने, आफूलाई प्रधानमन्त्री बनाउने पार्टीमा सल्लाह नै नगरी विघटन गरेकोले हामी संसदको पुर्ण कार्यकालका लागि एक भएको हो। त्यो कोर्ष सकियो। शेरबहादुरजीलाई भोट दिएर मंसिरको चुनाव टरेको छ’ उनले भने, ‘हामीले जोगाएको संसद अनि भोट दिएको सरकार भएकाले हामी सरकारमा जान पनि सक्छौँ, नजान पनि सक्छौँ। यो ठूलो कुरा होइन। अनिवार्य, बाध्यता र शर्त होइन।’

सरकारमा जाने भन्दा पनि पार्टी एकता पहिलो भएको तर त्यो एकता ओलीले गर्न नदिएको उनको आरोप छ। बाहिरबाट हेर्दा सरकार लगायतका कुरा सबैभन्दा महत्वपुर्ण भए पनि पार्टीलाई माया गर्नेका लागि पार्टी महत्वपुर्ण रहेको उनको तर्क छ।

एमालेभित्रको विवाद र वरिष्ठ नेता माधव नेपाल पक्षको अबको रणनीतिबारे हामीले एमाले केन्द्रीय सदस्य एवम् सांसद विरोध खतिवडासँग कुराकानी गरेका छौँ।

कुराकानीका मुख्य अंश-

वाम आन्दोलनको रक्षा र एमालेको बर्चस्व जोगाउनका लागि हामी संगठित ढंगले कानुनी प्रक्रिया पुरा गरेर अघि बढ्छौँ।
फागुन २८ गते संस्थापन पक्ष भन्नुस या केपी ओलीले गुटको बैठक राखे। हाम्रो उपस्थिति बेगर बैठक राखेर लगातार निर्णय गरिरहेका छन्। विधान संशोधन गर्ने प्रस्ताव तयार पार्ने निर्णय यसैको अन्तिम कडी हो।

हामीले फागुन २८ को बैठक र त्यसयताका बैठकलाई गुटको बैठक भनेका छौँ। २०७५ जेठ २ को बैठक नबस्दासम्मका सबै बैठक गुटका बैठक हुन्। अहिले पार्टी एकताको पक्षमा केपी ओली छैनन् भन्ने थप प्रष्ट भएको छ।

हाम्रो समूहको केन्द्रीय कमिटीले थप गतिविधि नगर्ने भनेको थियो। अधिवेशन लगायतका गतिविधि रोक्न, विधान संशोधन रोक्न, पार्टी सदस्यता वडा र गाउँ कमिटी अधिवेशन रोक्न भनेका थियौं। तर त्यसलाई रोक्नुको साटो विधान संशोधन भनेर झटारो फ्याकियो।

त्यो झटारोसँग हामीलाई केही छैन। त्यो गुटको कुरा हो। पार्टी एकता भयो भने फागुन २८ यताका सबै निर्णय खारेज हुन्छन्। ओलीले पार्टी फूटाए भने अर्कै कुरा भइहाल्यो।

फागुन २८ यता हामीले हाम्रा गतिविधि गरिरहेका छौँ। समानातर गतिबिधिमा गएका छौँ। यसो गरेको ओली सुध्रिन्छन् कि भनेर हो।

हाम्रो बैठकले एकताका लागि अन्तिम प्रयास गर्ने भनेको हो। यदी यो बटमलाइन केपीले मानेनन् भने हामी अलग ढंगले हिँड्नुपर्छ भन्नेमा वार्ता गर्ने नेताहरु समेत सहमत छन्। अन्तिम भनेको कहिले हो त? भन्ने प्रश्न आउँछ। अन्तिम भनेको २,४,६ महिना होइन। जतिसक्दो छिटो सक्नुपर्छ भन्नेमा छौँ। यो अन्तिम भनेको  ३० दिन नभनिकन छिट्टै भन्ने हो।

माधवजी एउटा परिपक्व र जिम्मेवार नेता हो। उहाँ कसैले धम्क्याएर धम्किने र फुर्क्याएर फर्किने होइन। हामी केपी ओलीको जस्तो हनुमान छैनौँ। विचार मिलेर एक भएका हौँ। हामी माधव नेपाल विचार समूह भन्न रुचाउछौँ।

केपी ओली बेइमान र भष्मकारी भए भन्दैमा उनकै नाममा पार्टी सक्न हुन्न भनेर हामीले एकताका लागि प्रयत्न गरेको हो। हामीले इमान्दार प्रयास गरेको हो। तर ओलीले झन धेरै बदमासी गरे। ओली समूहमा रहेका स्थायी कमिटीका नेताहरुले उनलाई नियन्त्रण गर्छन् कि भन्ने थियो झन रामभक्त हुदै गए। आलोचना गर्न नसक्ने सुझाव दिन नसक्ने पनि नेता हुन्छ। कुनै छलफल नभइकन ओलीको निर्णयलाई सिरोपर गर्ने पनि पार्टी हुन्छ।

Copy link
Powered by Social Snap