२०८१ बैशाख २९

ईपीएल क्रिकेटको उपाधि ट्रफी सार्वजनिक, ब्रेथवेट र मलिकले पनि खेल्ने

असोज ९ गते देखि सुरू हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) को ट्रफी सार्वजनिक भएको छ।

हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्ने ईपीएल ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफी सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन्। 


Advertisement


सोही कार्यक्रममा निर्देशक अख्तर र अध्यक्ष गोल्छाले मुख्य प्रयोजनका लागि सम्झौता गरे। दुबैले सम्झौतापत्र एक आपसमा  साटेर ट्वान्टी–२० क्रिकेटमा जोडिएको बताए।

असोजमा हुने फ्रेन्चाइज प्रतियोगितामा अब बजाज पल्सरले मुख्य प्रायोजन गर्नेछ। 

मुख्य प्रायोजन भए बापत बजाज पल्सरले लिगलाई २ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने छ जुन नेपालमा आयोजना भएका खेलकुद प्रतियोगिताहरुको इतिहासकै सर्वाधिक रकम हो। यस अघि नेपाल फुटबल संघले आयोजना गरेको ए डिभिजन फुटबल लिगमा मुख्य प्रायोजक बापत कतार एअरवेजले करिब डेढ करोड (१ लाख ५० हजार अमेरिकी डलर) प्रदान गरेको थियो।

सम्झौता पछि बोल्दै हंशराज हुलासचन्द एण्ड कम्पनीका निदेर्शक गोल्छाले खेलकुदमा जोडिन पाउँदा खुसी लागेको बताए ।

ईपीएलको चौथो संस्करण विश्वको १५० देशमा प्रत्यक्ष प्रशारण हुनेछ भने लिगमा शाहिद अफ्रिदी, शोयब मलिक, कार्लोस ब्राथवेट जस्ता खेलाडीहरु पनि खेल्ने हुँदा लिगको लोकप्रियता बढ्ने विश्वास आयोजकले लिएको छ। अफ्रिदी काठमाडौँ किंग्स-११ बाट खेल्दैछन् भने मलिक र ब्राथवेटको टिम सार्वजनिक गरिएको छैन।

ब्रेथवेटले वेस्ट इन्डिजबाट टी-ट्वान्टी विश्वकप जितिसकेका छन् । पूर्व कप्तान मलिक टी-ट्वान्टीमा पाकिस्तानका अनुभवी र सफल खेलाडी हुन् ।

पाकिस्तानकै पूर्व कप्तान शाहिद अफ्रिदीले काठमाडौं किङ्स-११ बाट ईपीएल खेल्ने पक्का भईसकेको छ ।

त्यस्तै पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले चितवन टाइगर्सबाट खेल्ने पक्का भईसकेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता १४ दिनसम्म चल्ने छ। 

प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू विराटनगर वारियर्स, काठमाडौं किङ्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्पर्धा गर्नेछन्।

Copy link
Powered by Social Snap