२०८१ जेष्ठ २

पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको बताएका छन्।


Advertisement


‘२००२ मा १५ वर्षको हुँदा मैले सुरू  गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरूप्रति म सदैव ऋणी रहनेछु,’ पारसले लेखेका छन्।

नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि भएको उनले बताएका छन्। 

‘क्रिकेटरको रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वा गरें।  मेरो जीवनमा  मैले देखेको सपना भनेको  नै मैले नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ,’ पारसले लेखेका छन्,‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा यात्रा टुंगिए पनि नेपाली क्रिकेटका आफ्ना सपना भने अझै बामे सर्दै गरेको बताएका छन्।  

‘मैदानभित्रका यी दुई दशक जीवन रहुन्जेल मीठो यादका रूपमा मसँग रहनेछन्,’ पारसले लेखेका छन्,’हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौं भन्ने विश्वास लिएको छु।’

Copy link
Powered by Social Snap