


जापानमा जारी टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलको सेमिफाइनल स्पेन, ब्राजिल, जापान र मेक्सिको पुगेसँगै समिकरण पुरा भएको छ।
Advertisement



पहिलो क्वार्टरफाइनलमा आइभरी कोष्टलाई ५-२ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा प्रवेश गरेको हो। स्पेनको जितमा सब्सिच्युट खेलाडी राफा मिरले ह्याट्रिक गरे।
अब स्पेनले फाइनल प्रवेशका लागि घरेलु टोली जापानको सामना गर्नेछ। जापानले यसअघि न्युजिल्याण्डलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
यस्तै अर्को सेमिफाइनलमा ब्राजिलले मेक्सिकोको सामना गर्नेछ।

दक्षिण कोरियालाई ६-३ ले हराउँदै मेक्सिकोले सेमिफाइनलको यात्रा तय गर्दा ब्राजिलले इजिप्टमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो।
दुबै सेमिफाइनल मंगलबार हुनेछन्।
सेमिफाइनल अन्तर्गत पहिलो खेलमा ब्राजिल र मेक्सिको भिड्ने छन्। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो १:४५ बजेदेखि सुरु हुनेछ।
त्यस्तै, सोही दिन दोस्रो सेमिफाइनलमा स्पेन र घरेलु टोली जापान खेल्ने छन्। यी दुई टिमको खेल अपरान्ह ४:४५ बजेदेखि सुरु हुनेछ।





