२०८१ बैशाख २०

गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए पद तथा गोपनीयताको सपथ

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्।


Advertisement


मंगलबार मन्त्रिपरिषद बैठकले सिफारिस गरेका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई भण्डारीले नियुक्त गरेकी थिइन्।

गुरूङ कांग्रेस र शेरचन नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका हुन्।

यसअघि गण्डकी प्रदेशमा सीताकुमारी पौडेल र लुम्बिनीमा धर्मनाथ यादव थिए। दुबैलाई फालेर देउवा सरकारले नयाँ नियुक्ति गरेको हो।

भरतपुरको एउटै टोलका शेरचन र गुरूङ बने लुम्बिनी र गण्डकी प्रदेशका प्रमुख 

भरतपुर महानगरपालिकाको एउटै टोलका दुई जना देशका दुई प्रदेशका प्रदेश प्रमुखमा नियुक्त भएका छन्। 

महानगरपालिकाको वडा नम्बर–२६ स्थित दिब्यनगरका अमिक शेरचन लुम्बिनी र पृथ्वीमान गुरूङ गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका हुन्। 

उनीहरूको घर भरतपुरबाट करिब २० किलोमिटर पश्चिम दिव्यनगरमा पर्छ। भरतपुर–मेघौली सडकसँगै उनीहरूको घर करिब ३०० मिटरको दूरीमा छ। मेघौलीतर्फ जाँदा दायाँतर्फ थकाली चोकमा शेरचनको र बायाँतर्फ धर्मभकारी चोकमा गुरूङको घर छ। 

सरकारले चितवनकै सीता पौडेललाई हटाएर पृथ्वीमान गुरूङलाई गण्डकी प्रदेशको प्रदेश प्रमुख बनाएको हो। पौडलभन्दा अघि उक्त प्रदेशको प्रमुख अमिक शेरचन थिए। एमाले र माओवादी केन्द्रको एकतापछि प्रदेश प्रमुख बनेका शेरचनलाई नेकपा विघटन भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेशको प्रमुखबाट हटाएर विश्वासपात्र पौडेललाई मुख्यमन्त्री बनाएका थिए।  

सरकारले लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई हटाएर शेरचनलाई प्रमुखमा नियुक्त गरेको हो। 

भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनालले आफ्नै वडाको एउटै टोलका दुई जना नेताहरू प्रदेश प्रमुख बनेको खबर सुनेको बताए। 

‘वडाले त के पाउला र,’ उनले भने, ‘जे होस् उहाँहरूले चाहिँ राम्रै पद पाउनु भएछ।’ 

उक्त वडाका अर्का एक जनप्रतिनिधिले ती दुवै नेताबाट वडाले अहिलेसम्म कुनै पनि उपलब्धी हासिल नगरेको भन्दै प्रतिक्रिया दिए ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’। 

उनले शेरचन देशकै उपप्रधान तथा स्वास्थ्यमन्त्रीदेखि प्रदेश प्रमुखसम्म बन्दा पनि आफ्नो वडालाई कहिल्यै नहेरेको गुनासो गरे। 

‘पृथ्वीमान गुरूङ पनि पार्टीको जिल्ला सभापति भए, सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष भएर खोइ के गरे त?,’ उनले भने, ‘यी नेताले अब पनि केही गर्छन् भन्ने त लाग्दैन तै पनि बधाई त भन्नैपर्‍यो।’

प्रदेश प्रमुख बनेका नेता शेरचन नेकपा माओवादी केन्द्रका सल्लाहकार थिए। गुरूङ नेपाली कांग्रेस विभाजन हुँदा शेरबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति भएका थिए।

Copy link
Powered by Social Snap