२०८१ बैशाख १३

टोकियो ओलम्पिक: आयोजक जापानको अग्रता कायमै, १० स्वर्णसहित शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा कामयै छ। 

प्रतियोगिताको चौथो दिन स्वर्ण पदकमा अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा यथावत रहेको हो। यसअघि प्रतियोगिताको तेस्रो दिन पनि जापान अगाडि थियो।


Advertisement


७१ स्वर्णको टुंगो लाग्दा जापानले हालसम्म १० स्वर्ण, तीन रजत र पाँच काँस्यसहित कूल १८ पदक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले नौ स्वर्ण, आठ रजत र आठ कास्य पदक प्राप्त गरेको छ भने चीनले नौ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ। 

यस्तै सात स्वर्ण, सात रजत र चार कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा छ । 

यसैगरी बेलायत चार स्वर्ण, पाँच रजत र चार कास्य पदकका साथ पाँचौँ स्थानमा रहेको छ । दक्षिण कोरिया तीन स्वर्ण, दुई रजत र पाँच कास्यसहित छैठौं, अस्ट्रेलिया तीन स्वर्ण, एक रजत र पाँच कास्यका साथ सातौँ, क्यानडा दुई स्वर्ण, तीन रजत र तीन कास्य जित्दै आठौँ, फ्रान्स दुई स्वर्ण, दुई रजत र तीन कास्यका साथ नवौँ तथा जर्मनी दुई स्वर्ण र तीन कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा छ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।   

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तीमध्ये सुटिङकी  कल्पना परियार, जुडोकी सोनिया भट्ट, पौडीका एलेक्स शाहले खेलिसकेका छन्। तीनै जना पराजित भई प्रतियोगिताबाट बाहिरिसकेका छन्। परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा शाहले एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका थिए। 

परियारबाहेक अरूले राष्ट्रिय कीर्तिमान बनाएका छन्।

टोकियो ओलम्पिकमा अब पौडीकी गौरिका सिंह र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ। सिंहले भोलि महिला १०० मिटर फ्रि स्टाइल तथा चौधरीले शुक्रबार महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। 

Copy link
Powered by Social Snap