२०८१ बैशाख १९

टोकियो ओलम्पिक – पदक तालिकामा चीन र अमेरिकालाई उछिन्दै जापान शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान तेस्रो दिन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। 

अमेरिका र चीनलाई स्वर्ण पदकमा उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो। जापानले यो समाचार तयार पार्दासम्म आठ स्वर्ण, दुई रजत र तीन कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले सात स्वर्ण, तीन रजत र चार कास्य पदक प्राप्त गरेको छ। तेस्रो स्थानमा झरेको चीनले ६ स्वर्ण, पाँच रजत र सात कास्य प्राप्त गर्न सफल भएको छ। 

यस्तै चार स्वर्ण, पाँच रजत र तीन कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ। 


Advertisement


तीन स्वर्ण, तीन रजत र एक कास्य पदकका साथ बेलायत पाँचौँ स्थानमा रहेको छ। यसैगरी दक्षिण कोरिया तीन स्वर्ण र चार कास्यसहित छैटौँ, अस्ट्रेलिया दुई स्वर्ण, एक रजत र तीन कास्यका साथ सातौँ, कोशोभो दुई स्वर्ण जित्दै आठौँ, इटाली एक स्वर्ण, तीन रजत र चार कास्यसहित नवौँ तथा फ्रान्स एक स्वर्ण, दुई रजत र दुई कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा छ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५१ देशले पदक प्राप्त गर्न सफल भएका छन्। २३ मुलुककले स्वर्ण पदक जित्दा भारतसहित १६ मुलुकले रजत पदक जितेका छन्।

नेपालबाट चार खेलमा पाँच खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन्। तिमध्ये सुटिङकी  कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलिसेका छन्। दुवै जना पराजित भए। परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । 

जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भइन्।

महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो।

जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन् ।

यसअघि नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरिन् ।
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन् ।

कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

कल्पनाले ६१६.८ स्कोर गरेर राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा भने छनोट हुन सकिनन् ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । 

पौडी खेलाडीद्वय गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइल र एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्  ।

एलेक्सले २७ जुलाईमा र गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछन् ।

Copy link
Powered by Social Snap