२०८१ जेष्ठ ८

उच्चस्तरीय राजनीतिक समितिको सट्टा देउवालाई सघाउन बन्यो कार्यदल

बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठक। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्न विभिन्न दलका नेता सहभागी कार्यदल बनेको छ।

देउवालाई सहयोग गर्न बनेको ७ सदस्यीय कार्यदलको प्रमुखमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का छन्।

कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टीका दुई-दुई जना नेता कार्यदलको सदस्य छन्।

कार्यदलमा संयोजकसहित कांग्रेसको बहुमत सदस्य छन्।


Advertisement


केन्द्रीय सदस्यद्वय रमेश लेखक र मिनेन्द्र रिजाल कार्यदलमा कांग्रेसबाट सदस्य छन्। महामन्त्री खड्का र लेखक देउवानिकट हुन् भने रिजाल वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट छन्। सरकारलाई सघाउने कार्यदल बनाउँदा पनि देउवाले पौडेल पक्षलाई स्थान दिएका छन्।

देउवानिकट एक कांग्रेसका पदाधिकारीका अनुसार यो कार्यदलले मुख्यगरी सरकारलाई सघाउँछ। नेकपा एमालेका वरिष्ठ  नेता माधवकुमार नेपाल पक्षले पनि देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर र संसदमा विश्वासको मत दिएको छ।

कार्यदलमा नेता नेपाल पक्ष भने सहभागी भएको छैन। यस्तै देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको राष्ट्रिय जनमोर्चा पनि न सरकारमा सहभागी छ न त कार्यदलमा नै। प्रतिनिधि सभामा जनमोर्चाबाट एक सांसद छन्।

नेता नेपाल र जनमोर्चाबिनै बनेको कार्यदलमा माओवादीबाट दुई र जसपाको (उपेन्द्र यादव) पक्षबाट २ जना सदस्य छन्। माओवादीबाट संसदीय दलका उपनेता देव गुरूङ र वर्षमान पुन छन्। जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव छन्।

गत साउन ३ मा प्रतिनिधि सभाबाट विश्वासको मत लिए पनि देउवाले एक सातासम्म मन्त्रिपरिषद बिस्तार गरेका छैनन्। यो कार्यदलले गठबन्धनबाट क-कसलाई कुन मन्त्रालय र को-को मन्त्री भन्ने टुंगो लगाएर प्रधानमन्त्री देउवालाई सल्लाह, सुझाव पनि दिन्छ।

कार्यदल किन बन्यो त?

देउवानिकट एक नेताका अनुसार माओवादी केन्द्रले उच्चस्तरीय राजनीतिक समिति बनाएर जानुपर्ने प्रस्ताव राख्दै आएको थियो। सरकारलाई सघाउन त्यस्तो समिति चाहिने उसको तर्क थियो।

‘गठबन्धनका शीर्ष नेता रहने उच्चस्तरीय राजनीतिक समिति हाम्रो संविधानले चिन्दैनथ्यो। त्यसैले त्यस्तो समिति नबनाऔं बरू दलका नेताहरूले सल्लाह, सुझाव दिन सक्ने कार्यदल बनाऔं भनेर यो बनाइएको छ,’ देउवानिकट ती नेता भन्छन्, ‘कार्यदलका सुझाव उपयुक्त लागेमा कार्यान्वयनमा आउँछन्।’

खड्का नेतृत्वको कार्यदलको बैठक शुक्रबार बसिसकेको छ। त्यस दिन सामान्य कुराकानीमात्रै भएको थियो। कार्यदलका एक सदस्यका अनुसार गठबन्धनबाट सरकारका न्यूनतम साझा कार्यक्रम ल्याउन सहयोग गर्ने प्रमुख जिम्मेवारी कार्यदललाई छ।

माओवादीको स्थायी कमिटी बैठकमागठबन्धनबाट साझा कार्यक्रम आउनुपर्ने र त्यसलाई संविधान तथा कानुनअन्तर्गत रहेर सरकारले कार्यान्वयन गर्नुपर्ने माग आएको थियो।

‘मन्त्रिपरिषद विस्तारसँग सम्बन्धित सैद्धान्तिक छलफल गर्ने, न्यूनतम साझा कार्यक्रम तयार गर्ने, संवैधानिक नियुक्ति कानुनसम्मत भएका छन् कि छैनन् अध्ययन गर्नेलगायतबारे सरकारलाई सुझाव दिन कार्यदल बनाइएको हो,’ ती सदस्यले भने।

सरकारलाई सहयोग गर्न के-के विषय आवश्यक पर्छन् तीबारे कार्यदलमा छलफल गर्ने, प्रस्ताव तयार गर्ने र सुझाव दिने दायित्व कार्यदलको रहेको ती नेता बताउँछन्।

‘गठबन्धनका शीर्ष नेता र प्रधानमन्त्रीलाई हामी सुझाव दिन्छौं,’ उनले भने, ‘यति काम गर्न कार्यदलले नै सक्छ, उच्चस्तरीय राजनीतिक समिति नै चाहिँदैन।’

कार्यदलको बैठक बसेको भोलिपल्ट एमाले नेता नेपालसहित गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो। शनिबार बसेको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए।

नेता नेपालले देउवा प्रधानमन्त्री भएपछि कोटेश्वरमै भएको एक बैठकमा आफू अब गठबन्धनमा रहिरहन नसक्ने बताएका थिए। नेपाल शनिबार भने गठबन्धन बैठकमा उपस्थित भएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ सहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए।

शनिबार गठबन्धन बैठकमा मन्त्रिपरिषद बिस्तारबारे पनि कुराकानी भएको थियो।

‘स्वास्थ्य मन्त्री नहुँदा काम गर्न गाह्रो भइरहेको छ,’ स्रोतले भन्यो, ‘माधव नेपालजीहरू सरकारमा आउने कि नआउने र जसपा अध्यक्ष उपेन्द्रजीहरूले केही समय माग गरेकोले मन्त्रिपरिषद बिस्तारमा दुई/चार दिन अझै समय लाग्न सक्छ।’

Copy link
Powered by Social Snap