२०८० चैत्र १६

अफ्रिकी महिलाले १० बच्चा जन्माएको समाचार असत्य

१० असार, काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० बच्चालाई जन्म दिएको समाचार असत्य भएको पाइएको छ । जुनको सुरुमा सार्वजनिक भएको समाचारको विषयमा गरिएको सोधपुछको क्रममा यस्तो पाइएको हो ।

दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तले कुनै पनि अस्पतालमा कुनै पनि महिलाले एकैपटक १० बच्चालाई जन्म दिएको रेकर्ड नपाइएको बताएको छ ।


Advertisement


यसअघि सार्वजनिक भएको समाचारमा गोसिआमे सिथोले नाम गरेकी महिलाले एकैपटक १० बच्चा जन्माएको उल्लेख गरिएको थियो । तर, उनको मेडिकल परीक्षण गर्दा सिथोले हालै गर्भवती नै नभएको पाइएको सरकारको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

३७ वर्षीया ती महिलालाई अहिले मानसिक स्वास्थ्य स्याहारको लागि राखिएको छ र उनलाई आवश्यक परेको अवस्थामा थप सहयोग दिइने विज्ञप्तिमा उल्लेख छ । यद्यपि यो समाचार कसरी फैलियो भन्ने विषयमा भने विज्ञप्तिमा उल्लेख गरिएको छैन ।

यद्यपि, यो समाचार पहिलोपटक प्रकाशित गरेको प्रिटोरिया न्युज सञ्चालन गर्ने इन्डिपेन्डेन्ट अनलाइनले भने यो समाचारमा आफू अडिग रहेको बताएको छ । कम्पनीले सिथोलेले गत जुन ७ मा १० बच्चालाई स्टिभ बिको एकेडेमिक अस्पतालमा जन्म दिएकी थिइन् । तर, अस्पताल भने १० बच्चालाई एकैपटक डेलिभरी गराउन तयारी नगरिएको इन्डिपेन्डेन्ट अनलाइनको दाबी छ । साथै अस्पताल प्रशासनले औषधि उपचारमा गरेको बेवास्तालाई लुकाउने प्रयास गरेको उसले बताएको छ ।

सरकारी अधिकारीले भने यसको खण्डन गरेका छन् । सरकारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा प्रिटोरिया न्युजका प्रधान सम्पादकविरुद्ध कानुनी कारबाही गरिने उल्लेख छ ।

कसरी फैलियो समाचार ?

गोसिआमे सिथोले र उनका पति तेबोहो त्सोतेत्सी गाउटेङ प्रान्तको थेम्बिसामा बस्छन् । उनका ६ वर्षका जुम्ल्याहा बच्चा छन् । इन्डिपेन्डेन्ट अनलाइनका अनुसार प्रिटोरिया न्‍यूजको रिपोर्टर र उनीहरु एकै चर्चमा जान्थे । गत डिसेम्बरमा उनीहरुबीच भेट भएको थियो । गत मे महिनामा रिपोर्टरले ती दम्पत्तीसँग अन्तर्वार्ता लिएका थिए । जसमा उनीहरुले आठजना बच्चा जन्मिन सक्ने बताएका थिए । सो क्रममा सिथोलेको फोटो पनि खिचिएको थियो ।

प्रिटोरिया न्युजले गत जुन ८ मा १० बच्चा एकैसाथ जन्मिएको समाचार प्रकाशित गरेको थियो । समाचारको स्रोतको रुपमा सिथोलेका पतिलाई उद्धृत गरिएको छ । यद्यपि केही समयपछि तेबोहो त्सोतेत्सीले आफू कोरोना भाइरसको कारण अस्पताल नगएको तर आफूलाई पत्नीले म्यासेज पठाएको बताएका थिए ।

प्रिटोरिया न्युजले ह्वाट्सएपको एक म्यासेजमाथि भरोशा गरेर समाचार प्रकाशित गरेको थियो । तर, अस्पतालले यो समाचारको पुष्टि गरेको थिएन । स्थानीय मेयरले पनि यो समाचारको पुष्टि गरेका थिए । जसको कारण यो समाचार धेरै प्रतिष्ठित सञ्चारमाध्यमहरुले प्रसारण गरेका थिए । पछि भने मेयरले पनि परिवारका सदस्यको भनाइको आधारमा उक्त समाचार पुष्टि गरेको तर आफूहरुले बच्चा नदेखेको बताएका थिए ।

१० बच्चाको जन्म दिएको भनिएकी महिलाको नाममा ७० हजार डलरभन्दा धेरै रकम सहयोग उठेको थियो । यद्यपि यो समाचारबारे आशंका बढ्दै गयो । सुरुमा प्रिटोरिया न्युजले अस्पतालको नाम भन्न सकेन भने उक्त प्रान्तका अस्पतालहरुले यो डेलिभरीमा आफूहरु सामेल नभएको प्रतिक्रिया दिए ।

इन्डिपेन्डेन्ट अनलाइनका अनुसार पछि सिथोलेको दम्पत्तीबीच विवाद उत्पन्न भएको थियो । त्यसपछि सिथोलेका पतिले आफ्नी पत्नी बेपत्ता भएको भन्दै सहयोग नगर्न अपिल गरेका थिए । यद्यपि सिथोलेले भने बच्चाको नाममा आएको सबै सहयोग पतिले राख्न खोजेको आरोप लगाएकी थिइन् ।

यसैबीच सामाजिक कार्यकर्ताहरुले सिथोलेलाई भेट्टाउन सफल भए र उनलाई गत शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।

बीबीसीबाट

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap