२०८१ बैशाख ८

यो वर्ष सबै खेल जितेको इटालीले गर्‍यो ८२ वर्षअघिको रेकर्ड बराबरी

युरो २०२० मा इटाली समूह चरणमा सबै खेल जित्दै अन्तिम १६ मा पुग्ने पहिलो टिम बन्यो। आइतबार भएको समूह चरणको अन्तिम खेलमा इटालीले वेल्सलाई पराजित गर्दै समूह चरणकै तीन खेलमा जित निकाल्यो।

यो जितसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० मा पुर्‍यो। यसअघि इटालीले सन् १९३९ मा पनि अपराजित खेल संख्या ३० खेलसम्म लम्ब्याएको थियो। 


Advertisement


अब युरो २०२० को नकआउट चरणमा जित हात पारे इटालीको अपराजित खेल संख्या ३१ हुनेछ। जुन उसको नयाँ राष्ट्रिय रेकर्ड बन्नेछ। 

८२ वर्षअघिको रेकर्ड बराबरी गरेको इटालीले युरो २०२० को समूह चरणमा ७ गोल गर्दा कुनै पनि गोल खाएन। 

यसअघि इटालीले सन् १९३५ अक्टोबरदेखि १९३९ को जुलाईसम्ममा खेलेका ३० खेलमा हार बेहोरेन। 

त्यतिबेला इटालीले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। यस्तै उसले सन् १९३६ को ओलम्पिक फुटबलमा पनि स्वर्ण पदक हात पारेको थियो। 

अहिले इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३० अन्तर्राष्ट्रिय खेलमा हारेको छैन। 

१० अक्टोबर २०१८ मा पोर्चुगलसँग १-० गोलले पराजित भएपछि इटालीले २५ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ। 

यस्तै इटालीले सन् २०२१ मा खेलेका सबै खेलमा जित हात पारेको छ।

इटालीले सन् २०२१ मा ८ खेल खेलेको छ। यी आठ वटै खेलमा इटालीले गोलसमेत खाएको छैन। इटालीले आठ खेलमा २४ गोल गरिसकेको छ।

इटालीको प्रशिक्षकमा रोबर्टो मान्सिनी नियुक्त भएपछि इटालीले केवल २ खेलमा मात्र हार बेहोरेको छ। 

३१ खेलसम्म अपराजित यात्रा लम्ब्याउने योजनामा रहेका मान्सिनीले अन्तिम १६ को खेल जित्दै उपाधितर्फ केन्द्रित हुनु पर्ने बताएका छन्। 

उनले हरेक खेल कठिन हुने भन्दै इटालियन टिमलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन्। 

Copy link
Powered by Social Snap