२०८० चैत्र १६

सिनोफार्मसँग सुरूमा १० लाख, त्यसपछि ५-५ लाख गरेर ४० लाख डोज खोप किन्ने सरकारको तयारी

सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाभाइरसविरूद्धको ४० लाख डोज खोप किन्ने तयारी अघि बढाएको छ।

एकजना मन्त्रीका अनुसार सिनोफार्मसँग खोप किन्नेबारे मन्त्रिपरिषदले यसअघि नै निर्णय गरिसकेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप किन्न लागेकोबारे बुधबार बसेको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा जानकारी गराएका थिए।


Advertisement


प्रधानमन्त्री ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी चीनबाट ४० लाख डोज खोप ल्याउन लागिएको बैठकमा बताएका थिए। 

बैठकमा सहभागी एक जना अधिकारीका अनुसार सिनोफार्मसँग सुरूमा १० लाख डोज खोप र त्यसपछि बाँकी ३० लाखमध्ये ५-५ लाखका दरले खोप ल्याउने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिएका थिए। 

‘हामीलाई पनि सबै खोप एकैचोटी ल्याएर राख्नुभन्दा लट-लटमा ल्याउँदा ठिक हुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै ती अधिकारीले भने,‘उहाँहरूलाई पनि पटक-पटक दिँदा उत्पादनमा दबाब हुँदैन। तर हामीलाई खोप दिने सुनिश्चितताचाहिँ हुनुपर्छ। चिनियाँ कम्पनीले त्यो सुनिश्चितता दिएको छ।’

प्रधानमन्त्री ओलीले ४० लाख डोजमध्ये पहिलो लटको १० लाख डोज खोप केही समयमै नेपाल आउने र साउनदेखि लगाउन सुरू गरिने पनि बैठकमा जानकारी दिएका थिए।

खोप कसरी, कुन मूल्यमा किन्न लागिएको हो भन्नेबारे सरकारी अधिकारीहरूले अहिलेसम्म केही खुलाएका छैनन्।

यसअघि चीन सरकारले नेपाललाई सिनोफार्म कम्पनीले उत्पादन गरेको १८ लाख डोज खोप अनुदानमा दिएको थियो।

गत जेठ १२ गते चिनियाँ समकक्षी सी चिनफिङसँग भएको टेलिफोन कुराकानीका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई पुग्ने खोप चीनबाट किन्न नेपाल इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्। 

राष्ट्रपति भण्डारीसँगको टेलिफोनलगत्तै चिनियाँ राष्ट्रपति चिनफिङले नेपाललाई १० लाख डोज खोप  अनुदान दिने घोषणा गरेका थिए।

नेपालले कोरोनाविरूद्धको खोप किन्न लागेको यो दोस्रो पटक हो। यसअघि भारतको सेरम इन्स्टिच्युटसँग नेपालले २० लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। त्योमध्ये १० लाख डोज खोप आएपछि ६५ वर्ष माथिकालाई लगाउन सुरू गरिएको थियो। सेरमले बाँकी १० डोज खोप दिन अस्वीकार गरेपछि अहिले कोभिसिल्डको पहिलो डोज लगाएका झन्डै १४ लाख मानिस दोस्रो डोज खोप कुरिरहेका छन्।

ती मानिसहरूलाई अष्ट्राजेनेकाकै खोप दिलाउन सरकारले अहिले पहल गरिरहेको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठले अष्ट्राजेनेका खोप किनेर राखेका क्यानडा, डेनमार्कलगायत मुलुकसँग नेपाललाई खोप दिन अनुरोध गरेका छन्।

ती मुलुकले खोपबारे ठोस जवाफ दिएका छैनन्। मन्त्री महासेठले शुक्रबार साँझ युरोप र अमेरिकी मुलुकमा रहेका नेपाली राजदूतहरूसँग पछिल्लो अवस्थाबारे छलफल गर्दैछन्।  

Copy link
Powered by Social Snap