२०८१ बैशाख ७

थप उपचारका लागि दिल्ली गएका झलनाथ खनालको स्वास्थ्यमा के-के छ समस्या?

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ।

परिवारले थप उपचारका लागि भारतको एपोलो अस्पताल लैजाने निर्णय भएपछि नर्भिक अस्पतालले डिस्चार्ज दिएको हो।

उनी साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका छन्। नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको थियो।


Advertisement


लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई दुई दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार गरिएको थियो।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको फोक्सोमा पानी जमेको देखिएको छ।

फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको नर्भिकले जनाएको छ। उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो।

उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन। उनको पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो।

खनाललाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो। हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो।

दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले लिन नसकेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो।

दिल्ली उड्नुअघि उनमा निरन्तर खोकी लागिरहेको थियो।

‘शरीर समेत शिथिल देखिन्थ्यो, उहाँ कामिरहनुभएको थियो। चिकित्सकहरुले कोभिड हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन्,’ नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले भने।

नेता खनालमा मिर्गौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरू देखिएको उपचारमा संलग्न डा. ब्रजेन्द्र श्रीवास्तवले बताए।

Copy link
Powered by Social Snap