२०८१ बैशाख १३

माओवादी नेता पाण्डेयको हत्या श्रीमतीकै योजनामा भएको प्रहरीको निष्कर्ष

३१ जेठ, बुटवल । कपिलवस्तुका नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ । गत जेठ ५ गते राति तौलिहवा–जितपुर सडकखण्डको गोबरीमा पाण्डेयमाथि मोटरसाइकलमा आएका तीनजनाले गोली हानेका थिए ।

शरीरमा दुई गोली लागेका पाण्डेयको तीन दिनपछि उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । झण्डै एक महीनाको अनुसन्धानपछि प्रहरी पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै श्रीमती महिमा पाण्डेय रहेको निष्कर्षमा पुगेको हो ।


Advertisement


‘दीपकको हत्यामा उनकै श्रीमती महिमाको हात रहेको पुष्टि भएको छ’ कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले भने । पाण्डेयको हत्याको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा टोली खटाएको थियो ।

पाण्डेयको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पत्नी महिमा, ओमप्रकाश यादव, रमजान साह मुसलमान, साकिर अलि पखिया रहेका छन् । प्रहरीले महिमा र ओम प्रकाशलाई मुख्य योजनाकार भनेको छ भने रमजान र साकिरले पाण्डेयलाई गोली हानेको उल्लेख गरेको छ ।

प्रहरीले हत्यामा सहयोग गर्ने र हतियार बिक्री गरेको आरोपमा अरु ७ जनालाई पनि पक्राउ गरेको छ । जसमा पूर्णवीर पाल्पाली, सद्दाम हुसेन खान, ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, श्रीराम कुर्मी, नसरत अलि र प्रवीण गुप्ता रहेका छन् ।

उनीहरुको साथबाट स्वचालित पेस्तोल एक थान, म्याग्जिन एक र गोली ८ राउण्ड, कटुवा पेस्तोल तथा गोली २ थान, जमिनमा गाडेर लुकाएको पेस्तोल, म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद भएको छ । यसअघि प्रहरीले गोली हान्ने दुईजनालाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध हातहतियार खरखजाना, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap