२०८१ बैशाख १३

कहिले हट्ला देशभरको निषेधाज्ञा ? गृह भन्छ– जिल्लाले आफैँ हटाउन सक्छन्

काठमाडौं । कोरोना महामारीको ‘चेन ब्रेक’ गर्ने भन्दै करिब डेढमहिना अघिदेखि ७५ जिल्लामा निषेधाज्ञा कायम छ । 
अत्यावश्यक सेवाबाहेक अन्य सबै क्षेत्र ठप्प छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निरन्तर निषेधाज्ञाको समय थप्दै आएको भए पनि जनजीवन सहज बनाउनेतर्फ भने पहल नगरेको गुनासो  ।

पहाडी जिल्लामा २ सय बढी र ठूला सहरी क्षेत्र भएका जिल्लामा ५ सय संक्रमित देखिए जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा लगाउनसक्ने कानुनी व्यवस्था छ ।


Advertisement


तर कतिपय जिल्लामा एक सयभन्दा कम संक्रमित छन् । तर निषेधाज्ञा जारी छ । निरन्तरको निषेधाज्ञाले व्यवसायी, दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्नेलगायत हरेकजसो क्षेत्र प्रभावित छ । पछिल्लो समय संक्रमण दर भने घट्दो क्रममा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले टेस्ट पोजेटिभिटी दर २९.८ रहेको छ भने निको हुने दर ८३.५ पुगेको छ । आइतबार साँझसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ । जसमध्ये ८२ हजार ७०३ जना होम आइसोलेसनमा, ६ हजार ५१४ जना संस्थागत आइसोलेसनमा, १ हजार ४४२ जना आईसीयूमा र ३८१ जना  भेन्टिलेटरमा रहेका छन् । 

आइतबार १० जनाभन्दा कम संक्रमित थपिनेमा पाँचथर भोजपुर, तेह्रथुम लगायतका २३ जिल्ला छन् । त्यस्तै ५० भन्दा कम संख्यामा सक्रिय संक्रमित रहेकामा ७ जिल्ला र २०० भन्दा कम रहनेमा १० जिल्ला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

व्यवसायी र सर्वसाधारणले स्वास्थ्य मापदण्डको पालना गर्दै जनजीवन सहज बनाउनुपर्ने आवाज उठाउन थालेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल जिल्लाले कोरोनाको अवस्था हेरेर निषेधाज्ञा निरन्तर गरिरहेको बताउँछन् । 

उनले भने,“जिल्लालाई ‘विथ ड्र’ गर्ने अधिकार छ अवस्था हेरेर । नलगाउन पनि सक्नुहुन्छ । वस्तुगत अवस्था हेरेर । संक्रमण दर घटेर गएको छ यसमा चेन ब्रेकले काम गरेको होला ।”

निषेधाज्ञा लगाउने नलगाउने निर्णय जिल्लाकै भएको उनले बताए । संक्रमण कम भएका जिल्लाहरुमा पुनर्विचार गर्नसक्ने सम्भावना पनि रहन सक्ने प्रवक्ता दाहाल बताउँछन् ।

उनले भने,“जिल्लाको रिपोर्टिङ नियमित हामीलाई आइरहेको हुन्छ । समग्रमा हेर्दा संक्रमणको दर घटेकै देखिन्छ । त्यो हिसाबले केही सहजतातर्फ जाला कि हेरौं ।”

Copy link
Powered by Social Snap