२०८१ बैशाख १८

अब बैंकहरूले अत्यावश्यक ५ सेवा मात्रै दिने, सकभर बैंक नआउन सुझाव

निषेधाज्ञाको अवधिमा पनि उपत्यकाका बैंकहरुमा सर्वसाधारणको भीड बढ्न थालेपछि बैंकहरुले अत्यावश्यक ५ सेवा मात्रै दिने भएका छन्।

नेपाल बैंकर्स एसोसिएसनको बैठकले अत्यावश्यक ५ सेवा मात्रै दिने निर्णय गरेको हो। जसअनुसार खाताबाट नगद झिक्ने, ५० हजारभन्दा बढी नगद जम्मा गर्ने, चेक/आइपिएस/आरटिजिएसमार्फत रकम स्थानान्तरण गर्ने, रेमिट्यान्स भुक्तानी र अन्तर्राष्ट्रिय व्यापारसम्वन्धी सेवाहरु मात्रै प्रदान हुने भएको छ। 

संघले अत्यावश्यकबाहेक साधारण कार्यका लागि अहिले बैंकमा नआउन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।  

संघले विज्ञप्तिमार्फत भनेको छ ‘नेपाल सरकारले अत्यावश्क अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्नुहुन अनुरोध गर्दछौं।’


Advertisement


डिजिटल बैंकिङ्ग प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न संघले आग्रह गरेको छ।

सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समयभर उपलब्ध हुन्छ।  

उपरोक्त बाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको  विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने संघले जनाएको छ।

पछिल्लो समय बैंकका कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ। हाल २ हजार ४ सय कर्मचारी संक्रमित छन्। 

हिजो मात्रै पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु भएको थियो। त्यसअघि २ कर्मचारीले ज्यान गुमाइसकेका छन्। 

धेरै कर्मचारीले लगाएका छैनन् भ्याक्सिन
सरकारले बैंकमा काम गर्ने कर्मचारीलाई प्राथमिकता दिँदै भ्याक्सिनको व्यवस्था समेत गरेको थियो। तर थोरै कर्मचारीले मात्रै भ्याक्सिन लगाएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन्। 

‘खासगरी काठमाडौंबाहिरका शाखाहरुमा काम गर्ने कर्मचारीमध्ये एकदमै कम मात्रैले भ्याक्सिन लगाए’ उनले भने। 
भ्याक्सिन लगाउनका लागि सरकारले बैंकका कर्मचारीलाई प्राथमिकता दिँदा पनि धेरैले लगाएनन्।

बैंकहरुले पनि कर्मचारीलाई भ्याक्सिन लगाउन अनिवार्य गरेनन्, तसर्थ इच्छुक कर्मचारीले लगाए भने धेरैले लगाएनन्।

कतिले भ्याक्सिन लगाए भन्ने तथ्यांक ठ्याक्कै नरहे पनि काठमाडौंबाहिर धेरैले भ्याक्सिन नलगाएको संघले जनाएको छ।

खासगरी भ्याक्सिनप्रतिको आशंकका कारण पनि धेरै कर्मचारीले लगाएनन्। ‘कोभिडसिल्ड’ खोप लगाउँदा कतिपयलाई सामान्य ज्वरो आउने लगायतका समस्या देखिए, यसले गर्दा पनि धेरै कर्मचारीले नलगाएको हुन सक्ने बैंकर बताउँछन्। 
भ्याक्सिन नलगाएका कर्मचारी संक्रमणको झन् जोखिममा देखिएका छन्। 

भ्याक्सिन लगाउनेलाई कोरोना संक्रमण देखिने गरे पनि गम्भीर अवस्था हुने संभावना कम रहेको विभिन्न अध्ययनमा देखिएको छ।

Copy link
Powered by Social Snap